काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले इतिहासकै ठूलो कारबाही गरेको प्रधानमन्त्री पुष्पकमल दाहालले दाबी गरेका छन् ।
बुधबार संसदमा प्रधानमन्त्री कार्यालयको बजेटमाथि सांसदहरुले उठाएको प्रश्नहरुको जवाफ दिने क्रममा प्रधानमन्त्री दाहालले व्यवस्थाप्रति जनतामा जगाएको भरोसा नै सरकारको सबभन्दा ठूलो उपलब्धि भएको बताएका छन् ।
आफू प्रधानमन्त्री हुँदा जनतामा राज्य र सरकारप्रति जुन निराशा, असन्तोष र आवेग थियो, त्यसमा अहिले सुधार आएको उनले बताए । नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले इतिहासकै ठूलो कारबाही गरेको उनले बताए ।
‘उच्च पदस्थहरु र देशको एउटा वर्ग कानुनभन्दा माथि छ भन्ने मान्यता गलत प्रमाणित हुँदै गएको छ’ दाहालले भने, ‘यो काण्डको सफल अनुसन्धानसँगै अब लोकतन्त्रको सर्भिसिङ र शुद्धीकरण सुरु भएको छ ।’
उनले भने, ‘हिजोबाट प्रधानमन्त्री निवास नै निल्न खोज्ने ललिता निवासका अभियुक्तहरु पक्राउ पर्न थालेका छन् । मिटर ब्याजी र सहकारीका ठगहरुमाथि करबाही सुरु भइसकेको छ ।’ वर्षौंदेखि थुप्रिएको विकृतिको डंगुर सफा गर्ने यो लडाइँमा आफूलाई संसद र आम जनताको समर्थन चाहिएको उनले बताए ।