ढाका, विदेशमा बस्ने र काम गर्ने लाखौँ बंगलादेशीहरूले जुलाई–अगस्टको तीन महिनाको अवधिमा करिब छ अर्ब अमेरिकी डलर रेमिट्यान्स स्वदेश पठाएका सरकारी तथ्यांकले देखाएको छ ।
आधिकारिक तथ्यांक उद्धृत गर्दै बंगलादेश बैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक आरिफ होसेन खानले भन्नुभयो, “बंगलादेशको विदेशी मुद्राको प्रमुख स्रोतमध्ये एक रहेको रेमिट्यान्स अगस्टमा गत वर्षको सोही महिनाको तुलनामा २२.५ प्रतिशतले बढेर दुई अर्ब ९६ करोड सात लाख डलर पुगेको छ । बंगलादेशीहरूले जुलाईमा दुई अर्ब ८५ करोड ९० लाख डलर रेमिट्यान्स स्वदेश पठाएको उनले थपे ।
बैंकका अनुसार आर्थिक वर्ष २०२५/२६ मा बंगलादेशको रेमिट्यान्स ३५ अर्ब डलरभन्दा बढी पुगी सर्वकालीन उच्च बिन्दुमा पुगेको थियो । बंगलादेशमा रेमिट्यान्स मुख्यतः संयुक्त अरब एमिरेट्स, साउदी अरब र कुवेतजस्ता मध्य पूर्वी मुलुकहरूबाट आउने गरेको सिन्ह्वाले जनाएको छ ।