काठमाडौं, लक्ष्मी सनराइज बैंकले भोटेकोशी बाढी प्रभावित परिवार तथा समुदायको राहत तथा पुनःस्थापना प्रयासमा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तीन करोड २४ लाख आर्थिक सहयोग गरेको छ ।
बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायतका जिल्लामा ठूलो जनधनको क्षति हुनुका साथै घरपरिवार, जीविकोपार्जनका माध्यम तथा अत्यावश्यक पूर्वाधारसमेत प्रभावित भएका छन् । तत्कालीन उद्धार तथा राहतका प्रयासहरू क्रमशः पुनःस्थापना र पुनर्निर्माणतर्फ अघि बढिरहेका बेला विपद् बाट प्रभावित समुदायलाई दीर्घकालीन रूपमा साथ र सहयोग आवश्यक रहेको छ ।
यो योगदानमार्फत लक्ष्मी सनराइज बैंकले प्रभावित परिवार तथा समुदायलाई सामान्य जीवनतर्फ फर्किन र पुनर्निर्माणका प्रयासलाई अघि बढाउन भइरहेका सामूहिक राहत तथा पुनःस्थापना अभियानमा आफ्नो तर्फबाट सहयोग पुर्याउने प्रयास गरेको छ । बैंकले यस विपद्का कारण आफन्त, घर तथा जीविकोपार्जन गुमाएका सम्पूर्णप्रति गहिरो समवेदना व्यक्त गर्दछ । साथै, विपद्को समयमा उद्धार, राहत तथा व्यवस्थापनमा निरन्तर खटिएका सरकारी निकाय, सुरक्षा निकाय, उद्धार तथा राहतकर्मी, स्वयंसेवक र स्थानीय समुदायको योगदानप्रति सम्मान व्यक्त गर्दछ ।
लक्ष्मी सनराइज बैंक विपद् तथा कठिन परिस्थितिमा समुदायसँगै उभिँदै आएको छ । आगामी दिनमा पनि प्रभावित समुदायको पुनःस्थापना, पुनर्निर्माण तथा विपद् प्रतिरोधात्मक क्षमता अभिवृद्धिका प्रयासमा आफ्नो भूमिका निर्वाह गर्न प्रतिवद्ध रहेको बैंकले जानकारी दिएको छ ।