काठमाडौँ । कृषि सामग्री कम्पनी लिमिटेडले चीनबाट रासायनिक मल ल्याउन टेन्डर आह्वान गरेपछि सिल्क मार्केट ग्लोबल म्याटिक्स, सिनोम्याक र विथ कम्पनीले २०७७ मा सो टेण्डर प्राप्त गरेका थिए ।
टेण्डर प्राप्त गरेको दिनदेखि ४५ दिनभित्र मल ल्याइसक्नु पर्नेमा कृषि सामग्री कम्पनी लिमिटेडले पटक पटक मल ल्याउन ताकेता गरे पनि टेन्डर पाउने कम्पनीले समयमा मल ल्याउन सकेनन् ।
चार वर्षअघि चीनबाट रासायनिक मल ल्याउने सम्झौता गरेका कम्पनीले अहिले मल ल्याएर सरकारलाई जबरजस्ती बुझाउन खोजेका छन् । सरकारले अहिले त्यो मल बुझ्यो भने एक अर्ब रुपैयाँभन्दा बढीको घाटा हुने निश्चित छ ।
सरकारसँग अनुमति नै नलिई ती कम्पनीले नेपाल–चीन नाकामा मल ल्याएका थिए । तर कृषि सामग्री कम्पनी लिमिटेडले मल बुझ्न नमानेपछि ती कम्पनीले पुनः उच्च अदालतमा मुद्दा दायर गरेका थिए । अदालतले मल बुझ्नका लागि कम्पनीको नाममा फेरि ‘स्टे अर्डर’ दिएको छ । तर कृषि सामग्री कम्पनी लिमिटेड अझै मल बुझ्न तयार भएको छैन ।
रासायनिक मलको मूल्य महँगो भएको समयमा महँगो दररेटमै सम्झौता गरेका कम्पनीले यतिबेला मूल्य निकै कम भएको समयमा मल ल्याएर बुझाउन खोजेको कृषि सामग्री कम्पनीका अधिकारीहरू बताउँछन् ।
उच्च अदालतले मल बुझ्न आदेश दिए पनि आफूहरू त्यसको विरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गर्न सक्ने सरकारी अधिकारी बताउँछन् । अर्बौँको घाटा सहेर मल बुझ्न नसकिने कृषि सामग्री कम्पनीका अधिकारीहरूले बताए ।
मल आयातको जिम्मेवारी पाएको कृषि सामग्री कम्पनीका प्रमुख विष्णु पोखरेलले पनि मल आयातको सम्बन्धमा आयातकर्ताहरूसँग छलफल जारी रहेको जानकारी दिए ।