काठमाडौं । पक्राउ परेका चार जना आरोपीलाई बालुवाटारस्थित ललितानिवासको जग्गा हडप्न सरकारी कागजात कीर्ते गरेको अभियोगमा ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, तत्कालीन डिल्लीबजार मालपोत कार्यालयका कर्मचारी गोपाल कार्की र धर्मप्रसाद गौतमलाई हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत, काठमाडौंले अनुमति दिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एसपी नवराज अधिकारीले बताए ।
प्रहरीले काठमाडौंको विभिन्न स्थानबाट उनीहरुलाई मंगलबार पक्राउ गरेको थियो । प्रहरीले ७ जनालाई पक्राउ गरेपनि ३ जनाको नाममा पहिल्यै निषेधाज्ञाको आदेश जारी भइसकेको पाइएपछि छाडिएको थियो ।
प्रहरीले मंगलबार बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा संलग्न भएको अभियोगमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह र तत्कालीन सरकारी कर्मचारी गोपाल कार्की र धर्मप्रसाद गौतमलाई पक्राउ गरेको थियो ।