काठमाडौं । नेपाल राष्ट्र बैंकले अबदेखि बैंक तथा वित्तीय संस्थाहरूले उपयोग गरेको दैनिक तरलता सुविधाबापतको रकम शोधभर्ना गर्नसक्ने व्यवस्था गरेको छ । दैनिक तरलता सुविधासम्बन्धी कार्यविधिमा तेस्रो संशोधन गर्दै राष्ट्र बैंकले केही सुविधा थप गरेको हो । संशोधित कार्यविधिअनुसार बैंक तथा वित्तीय संस्थाहरूले आरटीजीएस प्रणालीको तरलता व्यवस्थापन अवधि (लिक्विडिटी म्यानेजमेन्ट पिरियड)मा राफसाफ खातामा रहेको मौज्दातबाट संस्थाले उपयोग गरेको तरलता सुविधाबापतको रकम शोधभर्ना गर्न सक्नेछन् । यसरी शोधभर्ना हुन नसकेको सुविधा रकमलाई ओभरनाइट तरलता सुविधाका रूपमा गणना गर्नसक्ने व्यवस्था गरेको छ । यो व्यवस्था यसअघि थिएन ।
राष्ट्र बैंकले धितो सुरक्षणको सर्त र सीमासम्बन्धमा पनि केही नयाँ व्यवस्था थप गरेको छ । सहभागी संस्थाले लगातार दुई कार्यदिनसम्म ओभरनाइट सुविधा राफसाफ गर्न नसकेमा दोस्रो कार्यदिनको आरटीजीएस तरलता व्यवस्थापन समयमा कायम रहेको बक्यौता रकम अर्को कार्यदिनको १२ बजेभित्र भुक्तानी गर्नुपर्नेछ । यसअघि तीन ओभरनाइट कार्यदिनमा राफसाफ गर्नुपर्ने व्यवस्था रहेकोमा अब त्यसलाई घटाएर दुई ओभरनाइटमा हिसाब राफसाफ गर्नुपर्ने व्यवस्था गरेको हो । जसअनुसार यस्तो सुविधा लिएका बैंक तथा वित्तीय संस्थाले लगातार दुई कार्यदिनसम्म ओभरनाइट सुविधा राफसाफ गर्न नसकेमा दोस्रो कार्यदिनको आरटीजीएस तरलता व्यवस्थापन अवधिमा कायम रहेको बक्यौता रकम अर्को कार्यदिनको १२ बजेभित्र भुक्तानी गर्नुपर्नेछ ।
उक्त दिन रकम भुक्तानी गर्न असमर्थ भएमा यस्तो बक्यौता रकमलाई ९० प्रतिशतबराबर मानी सोको आधारमा एक सय प्रतिशतबराबरको थप सुरक्षणपत्र मौद्रिक व्यवस्थापन विभागमा धरौटी राखी धितो व्यवस्थापन खातालाई बैंकले कायम गरिदिएको सीमामा ल्याउनुपर्नेछ । सो बक्यौता रकम भुक्तान नभएसम्म उक्त रकममा नीतिगत दरमा एक प्रतिशत अतिरिक्त ब्याज लगाउनेछ । यस्तो रकम भुक्तानी भएपश्चात् सीमाभन्दा बढी धरौटीमा राखिएको सुरक्षणपत्र फुकुवा हुनेछ ।
यदि बिदाको दिनमा पनि आरटीजीएस प्रणाली सञ्चालनमा भएको अवस्थामा सहभागी बैंक तथा वित्तीय संस्थाले दैनिक तरलता सुविधा तथा ओभरनाइट तरलता सुविधा उपभोग तथा चुक्ता गर्न सक्नेछन् । अब बैंक तथा वित्तीय संस्थाहरूले उपयोग गरेको दैनिक तरलता सुविधाबापतको रकम शोधभर्ना गर्न सक्ने भएका छन् ।
आरटीजीएस प्रणालीमा सहभागी बैंक तथा वित्तीय संस्थाले मात्रै दैनिक तरलता सुविधा उपयोग गर्न पाउने व्यवस्था यसअघिदेखि नै छ । राष्ट्र बैंकले आरटीजीएस प्रणालीमा आबद्ध भई कारोबार फछ्र्यौट हुने क्रममा आरटीजीएस सेटलमेन्ट एकाउन्टमा मौज्दात अपुग भई तत्काल भुक्तानी हुन नसक्ने अवस्था आएमा बैंक तथा वित्तीय संस्थाहरूलाई तत्काल आवश्यक पर्ने तरलता उपलब्ध गराउने उद्देश्यले दैनिक तरलता सुविधा प्रदान गर्दै आएकोे छ ।
नयाँ व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले आरटीजीएस प्रणालीको तरलता व्यवस्थापन समयमा राफसाफ खातामा रहेको मौज्दातबाट संस्थाले उपयोग गरेको तरलता सुविधाबापतको रकम शोधभर्ना गर्न सक्नेछन् । यसरी शोधभर्ना हुन नसकेको सुविधा रकमलाई ओभरनाइट तरलता सुविधाको रूपमा गणना गर्ने भएको छ ।