काठमाडौं । ललिता निवासको सरकारी जग्गा घोटाला प्रकरणको अनुसन्धानलाई टुंगोमा पु-याउन कहीँकतैबाट कुनै पनि किसिमको दबाब र हस्तक्षेप नभएको केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यले जानकारी दिएकी छिन् । मंगलबार पक्राउ परेका चार जनालाई सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा एआईजी बज्राचार्यले अनुसन्धानलाई प्रभावित पार्न कतैबाट पनि दबाब र हस्तक्षेप नभएको प्रस्ट पारेकी छिन् ।
सीआईबीले ललिता निवासको जग्गा घोटाला प्रकरणमा मंगलबार सात जनालाई पक्राउ गरेको थियो । सो दिन पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका वडा नं. ५ बस्ने ६९ वर्षीय मिनबहादुर गुरूङ, वडा नं. ७ रातोपुल बस्ने ८० वर्षीय धर्मप्रसाद गौतम, वडा नं. ४ धुम्बाराही बस्ने ६५ वर्षीय सुधिर शाह र चन्द्राागिरी नगरपालिका वडा नं. ३ थानकोट बस्ने ६० वर्षीय गोपाल कार्की रहेका छन् । जग्गा प्राप्ति ऐन, २०१८ बमोजिम तत्कालीन सरकारले मुआब्जा दिई अधिग्रहण गरी नेपाल सरकार, समरजंग कम्पनीको नाममा दर्ता कायम रहेको काठमाडौं महानगरपालिका वडा नं. ४ बालुवाटारस्थित सरकारी जग्गा व्यक्तिको नाममा दर्ता कायम गरी हिनामिना गरेको सरकारी छाप दस्तखत कीर्ते मुद्दाको अनुसन्धानको क्रममा वारदातपश्चात् फरार रहेका उनीहरूलाई पक्राउ गरिएको सीआईबी प्रमुख बज्राचार्यले बताइन् ।
पक्राउ परेका सात जनामध्ये तीन जना सुरेन्द्रमान कपाली, कलाधर देउजा, हुपेन्द्रमणि केसीले अदालतको स्टे अर्डर लिएका कारण अनुसन्धानमा सहभागी हुने कागज गराएर मंगलबार साँझ नै छाडिएको र बाँकी चार जनाको हकमा भने अदालतबाट सात दिनको लागि म्याद थप गरेर अनुसन्धान भइरहेको बज्राचार्यले बताइन् ।
‘ललिता निवासको जग्गा घोटाला प्रकरण निकै पुरानो मुद्दा हो, यसमा अबौंँ रुपैयाँबराबरको सरकारी जग्गा हिनामिना भएको छ, हामीले विभिन्न चरणमा गरेका अनुसन्धानअनुसार पनि एक सय ४३ रोपनी जग्गा घोटाला गरेको देखिएको छ, सरकारी जग्गा घोटाला गर्नेहरुलाई हामी त्यसै छाड्दैनौँ, जुनसुुकै अवस्थामा पनि अनुसन्धानलाई टुंगोमा पु-याउँछौँ’, उनले भनिन् ।
ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आर्चायले नेपाल सरकार, समरजंग कम्पनीका नाममा दर्ता रहेको ललिता निवासको जग्गा हिनामिना गरेको, सरकारी छाप दस्तखत किर्ते मुद्दाको अनुसन्धानका क्रममा हालसम्म चार जनालाई पक्राउ गरिएको र आगामी दिनमा यो पक्राउको श्रृङ्खला अझै बढ्ने बताए । ‘राणा परिवारलाई जग्गा फिर्ता गरेको नाममा, नक्कली मोही खडा गरेर, गुठी खडा गरेर जग्गा हिनामिना गरेको पाइएको छ’, आचार्यले भने, ‘सरकारी जग्गामा मोही, गुठी कोही हुँदैन ।’ आचार्यका अनुसार ललिता निवासको कुल एक सय ४३ रोपनी जग्गा विभिन्न चार चरणमा किर्ते गरेर व्यक्तिको नाममा पास गरेको अनुसन्धानबाट खुलेको छ । जसमध्ये पहिलो चरणमा एक सय १२ रोपनी जग्गा किर्ते गरेर व्यक्तिको नाममा कायम गरियो भने त्यसपछि क्रमैसँग जग्गा हडप्ने काम सुरु भयो । ‘ललिता निवासको जग्गा जसरी व्यक्तिको नाममा कायम गरेर भोगचलन गरिएको छ, यसमा को–को जिम्मेवार छन्, को–को पक्राउ पर्छन्, सीआईबीको अनुसन्धान पूरा भएपछि सबै उदाङ्गो हुन्छ’, उनले भने ।
आरोपितलाई सात दिन हिरासतमा राख्न अनुमति
जिल्ला अदालत काठमाडौंले बालुवाटारस्थित ललिता निवासको जग्गा हडप्न सरकारी कागजात किर्ते गरेको अभियोगमा पक्राउ परेका चार जना आरोपितलाई सात दिन हिरासतमा राख्नको लागि अनुमति दिएको छ ।
‘निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, तत्कालीन डिल्लीबजार मालपोत कार्यालयका कर्मचारी गोपाल कार्की र धर्मप्रसाद गौतमलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो’, सीआईबी प्रमुख किरण बज्राचार्यले भनिन् । मुलुकी ऐन २०२० अनुसार सरकारी लिखित किर्तेमा हदम्याद लागू नहुने पनि उनले बताइन् ।