काठमाडौँ । राष्ट्रिय धान दिवसको अवसरमा शुभकामना दिँदै नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले आधुनिक उपकरणहरूको प्रयोग गरेर उत्पादन वृद्धि गरी कृषिलाई आत्मनिर्भर बनाउनुपर्ने बताएका छन् । सो अवसरमा उनले नेपालमा धान प्रमुख खाद्यवाली रहेकाले असार १५ अर्थात राष्ट्रिय धान दिवसको विशेष महत्त्व रहेको बताए ।
'नेपाल कृषि प्रधान देश भएकाले अधिकांश जनता कृषिमा आधारित रहेका छन् । तसर्थ, कृषि क्रान्तिलाई सम्पन्न नगरी कृषि अर्थतन्त्रको विकास सम्भव छैन । कम्तीमा पनि यति बेला कृषि क्षेत्रमा उत्पादन बढाउनका लागि आवश्यक आधुनिक उपकरणहरू उपलब्ध गराउन, किसानका अधिकार सुनिश्चित गर्न, कृषि उत्पादन सम्बन्धी विशेष तालिमहरू प्रदान गरेर कृषि उत्पादन वृद्धि गरी कृषिलाई आत्मनिर्भर बनाउनु पर्ने आवश्यकता रहेको छ ।' शुभकामना सन्देशमा भनिएको छ ।