विराटनगर । शुक्रबारको बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मतको प्रस्तावमा दलहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम छ । कोशी प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि शुक्रबार प्रदेशसभाको बैठक सुरु भएको छ ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले हिजो विश्वासको मत लिने तयारी गरे पनि अन्तिममा बैठक स्थगित भएको थियो । मुख्यमन्त्री कार्की बिहीबार प्रदेशसभाबाट बाहिरिएपछि ३० मिनेटका लागि स्थगित भएको बैठक पुनः सुचारु नभई राती सूचना टाँस गरेर स्थगित गरिएको थियो ।
नेकपा माओवादी केन्द्र र जसपाले समर्थन फिर्ता लिए पछि सङ्कटमा परेका मुख्यमन्त्रीले शुक्रबार विश्वासको मत लिन लागेका हुन् । कोशी प्रदेश सभामा नेकपा एमाले सबैभन्दा ठुलो दल रहेको छ ।मुख्यमन्त्री कार्कीलाई एमालेसहित राष्ट्रिय प्रजातन्त्र पार्टीले विश्वासको मत दिने जनाइसकेको छ ।