काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकले शनिबार सिद्धार्थ होटल ग्राण्ड सिटी, बिर्तामोडमा सञ्चालक समितिका अध्यक्ष महेन्द्रकुमार गोयलको अध्यक्षतामा १७ औं वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
सभाले संस्थापक समूहका सेयरधनीमध्येबाट तीन जना सञ्चालकमा महेन्द्रकुमार गोयल, राजन शर्मा र अमितकुमार अग्रवाललाई निर्वाचित गरेको छ र उक्त सभामा पूर्व सञ्चालक तथा संस्थापक सेयरधनी गणेशप्रसाद खनाललाई सम्मान गरिएको छ । प्रादेशिक बैंकको रूपमा झापा जिल्लाको बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको यस बैंकको कार्यक्षेत्र कोशी प्रदेश रहेकोमा हाल झापा, इलाम, मोरङ, पाँचथर र सुनसरीका विभिन्न ४४ स्थानमा अवस्थित आफ्ना कार्यालयहरूमार्फत बैंकि· सेवाप्रदान गरिरहेको छ भने चाँडै नै उदयपुर जिल्लाको रामपुरमा शाखा खोलिने बताइएको छ । आगामी दिनमा कोशी प्रदेशका अन्य जिल्लामा समेत शाखा विस्तार गर्दै लैजाने नीति बैंकले लिएको छ ।
बैंकको हालसम्म कर्जा लगानी करिब १० अर्ब ८० करोड र निक्षेप संकलन १३ अर्ब २५ करोड रहेको छ । सञ्चालक समितिका अध्यक्ष गोयलले उद्घाटन गरेकोे उक्त सभामा स्वागत मन्तव्य सञ्चालक राजन शर्माले र सभामा सहभागीहरुलाई सहभागिताका लागि धन्यवाद मन्तव्य सञ्चालक पर्शुराम दाहालले गरेका थिए । कार्यक्रम सञ्चालन कम्पनी सचिव श्यामबहादुर बोहोराले गरेका थिए । उक्त सभामा बैंकका प्रमुख कार्यकारी अधिकृत डा इन्द्रकुमार कट्टेलले बैंकका वर्तमान गतिविधि र भावी लक्ष्यको बारेमा मन्तव्य राखेका थिए भने संस्थापक सेयरधनीहरू सुरेश कुमार अग्रवाल र गणेशप्रसाद खनालले बैंकको उन्नति तथा प्रगतिका लागि शुभकामना मन्तव्य राखेका थिए ।