काठमाडौं । एनएमबी बैंकले विनाधितो किसानलाई कर्जा दिने नीति सार्वजनिक गरेको छ । बैंकले शुक्रबार एनएमबी खेती कर्जाअन्तर्गत दुई लाख रुपैंयाँसम्म कर्जा उपलब्ध गराउने नीति सार्वजनिक गरेको हो ।
यस्तो कार्यको लािग एनएमबी बैंक र खेती एपबीच सम्झौता भएको छ । सम्झौता पत्रमा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल केसी र खेती एपका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तुलसी गिरिले हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार अब किसानलाई ऋण लिन सहज हुने बैंकको विश्वास छ । किसानले न्यूनतम तीन महिनाका लागि कर्जा पाउने छन् भने अधिकतम सीमा २४ महिना रहने बैंकले जनाएको छ । बैंकबाट किसानले १० हजारदेखि दुई लाख रुपैयाँसम्म कर्जा पाउने छन् ।
कर्जा लिन किसानको खाता एनएमबी बैंक र खेती एप दुवैमा हुनुपर्ने जनाइएको छ । अहिले बागमती र गण्डकी प्रदेशका किसानलाई मात्रै कर्जा उपलब्ध गराइने बैंकले जानकारी दिएको छ । कृषिलाई प्रविधि जोड्न, कर्जा छिटो छरितो पाउन र समान बिक्री वितरण किन्न सहज हुने विश्वास बैंकले लिएको छ ।