काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलसँग भेट गरेका छन् । व्यवसायीलाई भन्सारमा परेको समस्याका बारेमा छलफल गरिएको अटोमोबाइल्सले जनाएको छ ।
नाडाका अध्यक्ष डा धु्रव थापा नेतृत्वको प्रतिनिधि मण्डलले महानिर्देशक पौडेलसँग भेट गरी वीरगञ्ज भन्सार कार्यालय, पर्साले आगामी साउन १ गतेपछि पैठारी हुने तयारी मालवस्तु बजारमा बिक्री वितरणका लागि पठाउनुअघि त्यस्ता मालवस्तुको प्याकिङमा आयातकर्ता र बजार वितरकको पूरा विवरण भएको लेवल लगाएर मात्र पठाउनु पर्ने भन्ने विषयमा जारी गरेको सूचनालगायत बारे छलफल गरिएको व्यवसायीहरूले बताए ।
छलफलमा नाडाका अध्यक्ष थापाले सूचनामा उल्लेखित विषय कुन क्षेत्रमा लागू गर्ने भनिएको हो प्रष्ट नभएको बताए । उनले अटोमोबाइल स्पेयर पार्टसका कतिपय वस्तुहरूमा यस्तो व्यवस्था लागू गर्न कठिनाइ हुने जानकारी गराए । छलफलमा नाडाका महासचिव सुरेन्द्रकुमार उपे्रतीले त्यसको कार्यान्वयमा आउने व्यावहारिक समस्या र अप्ठ्याराको बारेमा जिज्ञासा राखेका थिए ।
छलफलमा महानिर्देशक पौडेलले विदेशबाट धेरै नक्कली सामान पैठारी भई आउने भएकाले वैध व्यवसायलाई प्रोत्साहित गर्न र तस्करी तथा चोरी पैठारीलाई निरुत्साहित गर्न यस्तो व्यवस्था गर्न लागेको जानकारी दिए । अटोमोबाइल स्पेयर पार्टसको आयातमा पनि यो व्यवस्था लागू हुने उनले बताए । यसै क्रममा उनले अटोमोबाइल स्पेयर पार्टसका केही वस्तुहरूमा यस्तो व्यवस्था गर्न कठिनाइ हुने भए पनि यस सम्बन्धमा विभागले छिट्टै कार्यविधिसमेत ल्याउन लागेको जानकारी दिए ।
त्यसैगरी छलफलमा महानिर्देशक पौडेलले यसको सम्पूर्ण व्यवस्थापन स्वयम् पैठारीकर्ता र डिलरले गर्नुपर्ने भएकाले साधारण खुद्रा व्यवसायीलाई कुनै अप्ठेरो र झण्झट पनि नहुने प्रष्ट पारे । विभागका उपमहानिर्देशकद्वय सेवन्तक पोखरेल र रमेश अर्यालसमेतको उपस्थिति रहेको सो छलफलमा नाडाका सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल र केन्द्रीय कार्य समिति सदस्य प्रकाश कपुरीसमेतको उपस्थिति रहेको थियो ।