काठमाडौं,सन् २०२३ को छ महिनामा चार लाख ७६ हजार चार सय ८१ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । कोभिड–१९ महामारीका कारण सन् २०२० देखि पर्यटक आवागमन घटेको थियो । सन् २०१९ को जनवरीदेखि जुनसम्म पाँच लाख ३६ हजार ५८ विदेशी पर्यटक नेपाल घुम्न आएका थिए । यस्तै, सन् २०२० को सोही अवधिमा दुई लाख २० हजार आठ सय १५ जना, सन् २०२१ मा ५८ हजार ५८ जना र सन् २०२२ मा दुई लाख ४० हजार नौ सय एक जना विदेशी पर्यटक नेपाल आएका थिए ।
यस वर्षको जनवरीदेखि जुनसम्म नेपाल भित्रिने पर्यटकको संख्या गतवर्षको तुलनामा ९७ दशमलव ७९ प्रतिशतले बढेको छ । तर, सन् २०१९ को तुलनामा १६ दशमलव ९३ प्रतिशतले कम हो ।यस वर्षको जुनमा मात्रै ७२ हजार दुई सय ५० जना पर्यटक नेपाल भित्रिएका छन् । बोर्डका अनुसार जनवरीमा ५५ हजार ७४, फेब्रुअरीमा ७३ हजार दुई सय ४४, मार्चमा ९९ हजार चार सय २६, अप्रिलमा ९८ हजार सात सय ७३ र मेमा ७७ हजार सात सय तीन विदेशी पर्यटक नेपाल आएका थिए ।
जुन महिनामा सबैभन्दा धेरै पर्यटक भारतबाट आएका छन् । भारतबाट ३८ हजार आठ सय ४५ पर्यटक नेपाल भित्रिएका छन् । भारतपछि सबैभन्दा धेरै पर्यटक अमेरिकाबाट आठ हजार चार सय ७० जना नेपाल घुम्न आएका छन् । यसपछि चीनबाट चार हजार तीन सय ४३, बंगलादेशबाट दुई हजार चार सय दुई, यूकेबाट एक हजार नौ सय ९२, अष्ट्रेलियाबाट एक हजार छ सय ३९, मलेसियाबाट एक हजार ७९, दक्षिण कोरियाबाट आठ सय ८८, जापानबाट सात सय ६४ र भुटानबाट सात सय दुई जना पर्यटक नेपाल घुम्न आएका छन् ।