मिलिनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले नुवाकोटको बेलकोटगढी नगरपालिका–७ रातमाटेस्थित सबस्टेसन निर्माणको लागि स्थानीयलाई मुआब्जा वितरण गरेको छ ।एमसीए नेपालका अनुसार रातमाटे सबस्टेसनका लागि एक सय ७५ परिवारलाई एक अर्ब २६ करोड रुपैयाँ वितरण गरेको छ । यो कार्य अन्तिम चरणमा रहेको विद्युत् नियमन आयोग र सडक विभागसँग प्राविधिक सहयोगसम्बन्धी सम्झौता समेत गरेको बताइएको छ ।
‘रातमाटे सबस्टेसनको लागि एक सय ८९ मध्ये एक सय ७८ कित्ता जग्गा प्राप्ति गरिएको थियो’, एमसीए नेपालका एक अधिकारीले भने, ‘त्यसमध्ये एक सय ७५ परिवारलाई मुआब्जास्वरूप सो रकम वितरण गरिएको हो ।’सडक विभागलाई प्रयोगशाला उपकरण हस्तान्तरण गरिएको, उपकरण प्रयोगबारे प्रशिक्षण र इन्जिनियरलाई तालिम दिइएको, प्रयोगशाला निर्माणसम्पन्न गरिएको एमसीए नेपालले जनाएको छ ।
नेपाल सरकार र एमसीए नेपालबीच भएको सम्झौताअनुसार चार सय केभी क्षमताको तीन सय १२ किलोमिटर लामो विद्युत् प्रसारण लाइन निर्माण गरिनेछ । यसअन्तर्गत भारतीय सीमादेखि बुटवल, बुटवल–दमौली, दमौली–रातामाटे (नुवाकोट), रातमाटे हेटौंडा र रातामाटे लप्सीफेदी (काठमाडौं) प्रसारण खण्ड निर्माण गरिनेछ । रातमाटे, दमौली र बुटवलमा तीनवटा चार सय केभीका ठूला सबस्टेसनहरू निर्माण हुनेछन् । सोही कार्यलाई अघि बढाउने क्रममा मुआब्जा वितरण तथा जग्गा प्राप्तिलगायतको कामहरू भएको हो ।
प्रसारण लाइनअन्तर्गतका आयोजनामा करिब ४० करोड डलर खर्च गरिनेछ । यस्तै पूर्व–पश्चिम राजमार्गअन्तर्गत चन्द्रोटा–भालुवाड–लमही शिवखोला ९९ किलोमिटर सडक स्तरोन्नति गरिनेछ । एमसीए नेपालका अधिकारीका अनुसार सुरुमा भालुवाङ–लमही २७ किलोमिटर सडक पाइलट परियोजनाका रूपमा निर्माण गरेपछि बाँकी सडक निर्माण अघि बढाइनेछ । अधिकारीहरूका अनुसार अत्यधिक पेभमेन्ट रिसाइकलिङ प्रविधिको प्रयोग गरी पहिलाको पिच खेर नजाने गरी सडक मर्मत गरिनेछ । प्रसारण लाइन आयोजनाबाट दुई करोड ३० लाख र सडक स्तरोन्नतिबाट नौ लाख २४ हजार जनता लाभान्वित हुने प्रक्षेपण गरिएको छ ।
यस्तै, आगामी आर्थिक वर्षमा प्रसारण लाइन विकासको लागि वन मन्त्रालयसँग सम्झौता गर्ने तयारी एमसीए नेपालको छ । एमसीए नेपालका अनुसार आगामी आर्थिक वर्षमा रुख कटान र वन जग्गाको उपयोगको लागि एमसीए नेपाल र वन मन्त्रालयबीच सम्झौता गर्ने, गैरवन भूमि हस्तान्तरण प्रोटोकलका लागि नेपाल सरकारबाट प्रतिबद्धतापत्र जारी गर्ने, नेपाल सरकारबाट भूमि जग्गा स्थानान्तरण प्रोटोकल स्वीकृत गर्ने बताइएको छ । साथै सडक विभाग प्रयोगशाला शाखालाई सुपरपेभ र फुलडेप्थ रेक्लामेसन प्रविधिसँग सम्बन्धित अत्याधुनिक उपकरण प्रदान र तालिम सञ्चालन गर्ने समेत बताइएको छ । नेपालको सन्दर्भमा सडक, भवन, परियोजना निर्माणको लागि रुख कटानको विषय निकै जटिल रहेकाले यस्तो अवस्थामा एमसीए नेपालले राखेको रुख कटानको लक्ष्य जटिल विषय रहेको सरोकारवालाहरू बताउँछन् ।
एमसीए नेपालले मुआब्जा वितरणका साथै प्रसारण लाइन पुनर्वास कार्ययोजना सञ्चालन, प्रसारण लाइनको अतिरिक्त सर्वेक्षण ३० किलोमिटर सम्पन्न, आयोजना प्रभावित २० प्रतिशत व्यक्तिलाई मुआब्जा वितरण, गरेको छ । साथै उसले एमसीए नेपाल पार्टनरसिप प्रोग्रामको १० प्रतिशत कार्य सम्पन्न, विस्तृत सर्वेक्षण तथा डिजाइन सम्पन्न सबस्टेसनहरूको ५५ प्रतिशत निर्माण सम्पन्न, धानखोला–लमही ४० किलोमिटर सडक खण्डको मर्मत सुधार र पुनस्र्थापना सुचारुको काम समेत सकेको छ । यस्तै एमसीए नेपालले लमही शिवखोला ३७ किलोमिटर सडक खण्डको मर्मत सम्भार सुचारु, सुपरपेभ रफुलडेप्थ रेक्लामेसन प्रविधिसँग सम्बन्धित अत्याधुनिक उपकरण र तालिम प्रदान गर्ने काम समेत गरेको छ ।
एमसीए परियोजनालाई लिएर नेपाली समाज विभाजित रहेको अवस्थामा आगामी दिनमा रुख कटान गर्ने, सडक प्रयोग गर्नेलगायतका विषयहरू जटिल हुने देखिन्छ । सन् २०१४ मा एमसीसीले आफ्नो कार्यक्रमको लागि ‘योग्य’ भनेर नेपाललाई छनोट गरेको थियो । त्यसपछि नेपालको निरन्तर पहलपछि अमेरिकाले एमसीसीमार्फत ५० करोड अमेरिकी डलर अनुदान गर्ने निर्णय गरेको हो ।
यो कार्यक्रममा नेपाल सरकारले समेत १३ करोड अमेरिकी डलर लगानी गर्दै छ । यसरी एमसीसीको परियोजनामा ६३ करोड अमेरिकी डलर (करिब ७२ अर्ब रुपैयाँ) लगानी हुनेछ । अमेरिकी सरकारले एमसीसी अघि बढाउने क्रममा कम्प्याक्ट डेभलेपमेन्ट फन्ड (सीडीएफ)तर्फ बजेट विनियोजन गरी एमसीसी विकास समितिको कार्यालय स्थापना गरी परियोजनासम्बन्धी प्रारम्भिक कार्यमा आर्थिक वर्ष २०७७÷७८ मा खर्च गरेको हो ।
सीडीएफतर्फ बजेट विनियोजन गरी एमसीसी विकास समितिको कार्यालय स्थापना गरी परियोजनासम्बन्धी प्रारम्भिक कार्यमा आर्थिक वर्ष २०७७/७८ मा एक अर्ब २४ करोड १४ लाख ६६ हजार रुपैयाँ तथा हालसम्म नेपाल सरकारको स्रोतबाट ९५ करोड ७६ लाख ९४ हजार रुपैयाँ र एमसीएको स्रोतबाट एक अर्ब ३५ करोड २९ लाख १८ हजार रुपैयाँ समेत दुई अर्ब ३१ करोड छ लाख रुपैयाँ खर्च भएको महालेखापरीक्षकको कार्यालयले जनाएको छ ।