काठमाडौं । सोमबार गिरिजाप्रसाद कोइरालाको जन्मजयन्तीमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताको जीवनमा परिवर्तन ल्याउने विश्वासका साथ कोही आउँछन भने उनीहरूलाई ठाउँ छोड्न केही गाह्रो नहुने बताएका छन्।
उनले भने, ‘मैले कहिलेकाहीँ भन्ने गर्छु, हाम्रोभन्दा राम्रो विचार लिएर कोही आउने, हाम्रोभन्दा धेरै त्याग र तपस्या रहेका दलहरू कोही अगाडि आउने र जनताको जीवनमा परिवर्तन ल्याउने हो भने तिनीहरूलाई सम्मान गर्न, ठाउँ छोड्न केही गाह्रो छैन,।’ तर राम्रा एजेन्डासहित अहिलेसम्म कोही नआएको प्रधानमन्त्री दाहालको भनाइ छ।
उनले सुशासन, समृद्धि र सामाजिक न्यायका पक्षमा आफू नेतृत्वको अहिलेको सरकारले काम गरिराखेको पनि बताए। ‘हामीले अलिकति पनि हेलचक्य्राइँ गर्ने हो भने यो प्रणाली र राष्ट्रकै भविष्य दुर्घटनामा पर्ने देखिन्छ,’ उनले भने। उनले कांग्रेसबिना शान्ति प्रक्रियालाई अघि बढाउन नसकिने पनि बताए।