हुम्ला । नाम्खा गाउँपालिका–३ खगालगाउँका तीन घरमा सोमबार बिहान परेको अविरल वर्षापछि आएको लेदोसहितको बाढीले तीन घरमा क्षति पुर्याएको छ । सोमबार बिहान परेको भीषण वर्षापछि आएको बाढीले पेमा छिरिङ लामा, लुन्डुप रिञ्जिन लामा र छोईकी लामाको घरमा क्षति पुर्याएको यज्ञबहादुर शाहीले जानकारी दिए ।
लुन्डुप रिन्जिन लामाको घरमा एकातर्फको पर्खाल भत्किएर घरभित्र लेदो पसेको थियो । लेदोसहितको भल घरभित्र पसेपछि सामान, अन्नपात, भाँडाकुडा, लत्ताकपडालगायतका सामग्रीमा क्षति पुर्याएको उनको भनाइ छ । बाढीले खेतीयोग्य जमिन र बालीमा समेत क्षति पु-याएको प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए । हाल प्रहरी घटनास्थलतर्फ गएको र प्रहरी पुगेपछि मात्रै क्षतिको विवरण आउने उनको भनाइ छ ।