काठमाडौँ । मंगलबार प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूसँग सभामुख देवराज घिमिरेले छलफल गर्ने भएका छन् । मंगलबार बिहान सिंहदरबारस्थित कार्यकक्षमा सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओली र नेपाली कांग्रेसका शेरबहादुर देउवासँग छलफल गर्न लागेका हुन् ।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ पनि सहभागी हुने तय भएको छ । शीर्ष नेताहरूसँग सभामुख घिमिरेले संसदीय समितिका सभापति चयन र संसद्लाई प्रभावकारी बनाउने विषयमा छलफल गर्न लागेका हुन् । पटक-पटक सभापति चयन गर्न समयसीमा नै तोक्दा पनि दलहरुले प्रयत्न नगरेपछि सभामुख घिमिरेले शीर्ष नेताहरूलाई बोलाएका हुन्।