काठमाडौं । नेपाल उद्योग परिसंघका पदाधिकारीले पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन् । भेटमा मुलुकको अर्थतन्त्रका विषयमा छलफल भएको परिसंघले जनाएको छ ।
छलफलमा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले मन्दीमा रहेको अर्थतन्त्र सुधारका लागि सबै राजनीतिक दलहरू एक बन्नुपर्ने जोड दिए । अर्थतन्त्र सुधारका लागि राजनीतिक दलहरूले आर्थिक विषयलाई प्राथमिकतामा राखेर निकास दिनुपर्नेमा परिसंघको जोड थियो । भेटमा उनले अर्थतन्त्रलाई चलायमान बनाउँदै लक्षित आर्थिक वृद्धि हासिल गर्नतिर जोड दिनुपर्ने बताए । परिसंघले आगामी मौद्रिक नीति लचिलो हुनुपर्ने, जलविद्युत् आयोजनाको पीपीए खुला गरिनुपर्ने, सार्वजनिक निजी साझेदारीमा पूर्वाधार क्षेत्रको विकास गरिनुपर्ने, भूतप्रभावी कर नीति हुन नहुने, ठूला उद्योग तथा व्यावसायिक कृषिका लागि जग्गा हदबन्दी हुन नहुने जस्ता विषयमा छलफल भएको छ ।
छलफलमा पूर्वप्रधानमन्त्री ओलीले अर्थतन्त्रका विषयमा आफूले कुरा राख्दै आएको बताए । प्रधानमन्त्री हुँदा वा नहुँदा आर्थिक क्षेत्रको सुधार, विकासका लागि बोल्दै आएको भन्दै उनले अर्थतन्त्रका विषयलाई आफूले प्राथमिकतामा राख्दै आएको बताए । छलफलमा परिसंघका निवर्तमान अध्यक्ष विष्णुकुमार अग्रवाल, उपाध्यक्षहरू वीरेन्द्रराज पाण्डे, अमित मोर, भीम घिमिरेलगायत सहभागी थिए ।