धनगढी । आफ्नो पार्टी सत्ता फेरबदलको दौडमा नरहेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बताएका छन् । अहिले रास्वपा संगठन विस्तारमा जुटेकाले सत्ता फेरबदलका लागि हुने कुनै पनि बैठकमा सहभागी नभएको लामिछानेले बताए ।
धनगढी विमानस्थलमा मंगलबार पत्रकारहरुसँग कुरा गर्दै लामिछानेले भने, ‘अघिल्लो पटक नै सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा जाने निर्णय लिएका हौं । सत्ता फेरबदलबारे सुनेपनि म कुनै पनि बैठकमा गएको छैन् । हामी कुनै पनि क्रियाकलापमा सहभागी छैनौं ।’
अहिलेको आर्थिक संकटको समाधान गर्ने गरी बजेट ल्याउनुपर्नेमा सरकारले नियमित जस्तै बजेट ल्याएको उनले बताए । ‘यो बजेटलाई कसले स्वागत गरेको देख्नुभयो न साना व्यवसायीको पक्षमा छ, न लघुवित्त पीडितको पक्षमा छ’ उनले भने, ‘यसमा त्रुटि छ । सरकारले कुनै न कुनै कार्यक्रम ल्याएर सच्याउनुपर्छ । उनले अहिले सरकारले जनपक्षीय काम गर्न नसकेको र सत्ता जोगाउने खेलमा मात्र सीमित रहेको आरोप पनि लगाए ।