काठमाडौं । मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडले साधारण सेयरको बिक्री कार्य सुरु गरेको छ । कम्पनीले पहिलो चरण असार १९ गते मंगलबारबाट आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण सेयरको बिक्री कार्य खुल्ला गरेको हो ।
कम्पनीका अनुसार पहिलो चरणमा जारी पुँजी ८० करोड रुपैयाँको १० प्रतिशत अर्थात् आठ करोड रुपैयाँ बराबरको प्रतिसेयर एक सय रुपैंयाँ अंकित मूल्य कायम रहेको आठ लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्रअन्र्तगत दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका वडा नं. ५, ६, ७ र ८, बिगु गाउँपालिका वडा नं. ४ र कालिञ्चोक गाउँपालिका वडा नं. ३ का बासिन्दाहरूको लागि खुल्ला गरेको हो ।
यसैगरी सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको सेयर १० प्रतिशतले हुन आउने दुुई करोड रुपैयाँ बराबरको प्रतिसेयर एक सय रुपैयाँ अंकित दरका दुई लाख कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीका लागि निष्काशन गर्न लागेको कम्पनीले जानकारी दिएको छ । सोअनुसार आयोजना प्रभावित क्षेत्रका जनताको हकमा न्यूनतम १० देखि अधिकतम एक लाख कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीको हकमा न्यूनतम १० देखि अधिकतम ५० हजार कित्तासम्मको खरिद सीमा तोकिएको छ ।
सेयर खरिदका लागि आयोजना प्रभावितको हकमा यही असार १९ गतेबाट साधारण सेयरको बिक्री कार्य खुल्ला भई छिटोमा यही साउन दुई गते र ढिलोमा यही साउन १७ गते बिक्री कार्य बन्द हुनेछ । बैदेशिक रोजगारीको हकमा भने यही असार १९ गतेबाट साधारण सेयरको बिक्री कार्य खुल्ला भई यही साउन दुई गते बन्द हुनेछ । कम्पनीको सेयर निष्काशन एवं बिक्री प्रबन्धकको रूपमा बिओके क्यापिटल लिमिटेड रहेको छ ।