काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले विभिन्न स्थानमा आफ्नो थप पाँच शाखा सञ्चालनमा ल्याएको छ । शाखा विस्तार गर्ने क्रममा कोशी प्रदेशको संखुवासभा, गण्डकी प्रदेशको तनहुँ, लुम्बिनी प्रदेशको बर्दिया, कर्णाली प्रदेशको सल्यान र सुदूरपश्चिम प्रदेशको बैतडीमा एकसाथ पाँचवटा शाखा सञ्चालनमा ल्याएको हो । योसँंगै बैंकको एक सय ८८ वटा शाखाहरू सञ्चालनमा आएका छन् ।
प्रदेशगतरूपमा बैंकको कोशी प्रदेशमा २७, मधेश प्रदेशमा २९, बागमती प्रदेशमा ५०, गण्डकी प्रदेशमा १३, लुम्बिनी प्रदेशमा ५१, कर्णाली प्रदेशमा १० र सुदूरपश्चिम प्रदेशमा आठ वटा शाखा पुगेका छन् । यी शाखामार्फत ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरेट व्यवसायीमाझ वित्तीय पहुँच पु¥याउने लक्ष्य बैंकले राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, एटीएम सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जालगायतका वित्तीय सेवाहरू छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले जनाएको छ ।
बैंकमा आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले नयाँ शाखाका सम्पूर्ण कर्मचारीलाई बधाई तथा शुभकामना व्यक्त गर्दै मर्यादित ढङ्गबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा सुविधा उपलब्ध गराउन निर्देशन दिएका छन् । सुशासन, कम्प्लाइन्स र प्रुडेन्ट बैंकिङमा ध्यान दिँदै ग्राहकलाई उत्कृष्ट सेवा दिने काममा सिटिजन्स बैंक अग्रस्थानमा रहने गरी काम गर्न प्रमुख कार्यकारी अधिकृतले सबै कर्मचारीहरुलाई आग्रह गरे ।
बैंकले देशैभर फैलिएका आफ्ना एक सय ८८ वटा शाखा, तीनवटा विस्तारित काउन्टर, एक सय ४३ वटा एटीएम, छवटा कियोस्क सेवा र ९७ वटा शाखारहित बैंकिङ इकाइबाट करिब १६ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।