काठमाडौं । ६८ वटा सहकारी संस्थाहरुले बचतकर्ताको रकम हिनामिना गरेको भन्दै काठमाडौं महानगरपालिकाले कानुनी कारबाहीको लागि प्रहरीलाई पत्र काटेको छ । बचतकर्ताले दिएको उजुरीका आधारमा महानगरले प्रहरीलाई पत्र पठाएको हो । महानगरले करिब २ हजार ७०० जना बचतकर्ताको १ अर्ब २१ करोड ३८ लाख रुपैयाँ हिनामिना गरेको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंमा कारबाहीको लागि पत्र पठाएको हो ।
२०७८ साल यता सहकारीले रकम अपचलन गरेको संख्यामा उल्लेख्य वृद्धि भएको छ । २०७९ साल यता मात्रै ३० वटा सहकारीले ३३ करोड ६३ लाख रकम हिनामिना गरेको विभागले जनाएको छ । महानगरको कार्यक्षेत्रभित्र पर्ने सहकारीमध्ये अस्मोसिस बचत तथा ऋण सहकारी संस्थाले ७ करोड ५४ लाख रुपैयाँ अपचलन गरेको छ भने गृहशान्ति बचत तथा ऋण सहकारी संस्थाले सबैभन्दा धेरै ३९ करोड ११ लाख रुपैयाँ हिनामिना गरेको महानगरले प्रहरीलाई पठाएको पत्रमा उल्लेख छ ।
कारबाहीका लागि सिफारिस गरिएका सहकारीहरुमा ३ करोडमाथि बचत अपचलन गरेको भन्दै हलमार्क बचत तथा ऋण सहकारी संस्था, मानापाथी बचत तथा ऋण सहकारी संस्था, अभिमत बचत तथा ऋण सहकारी संस्था, नव संकल्प बचत तथा ऋण सहकारी संस्था, जिलेट बचत तथा ऋण सहकारी संस्था र पर्फेक्ट बचत तथा ऋण सहकारी संस्थाहरु रहेका छन् । काठमाडौं महानगरको सहकारी विभागले २०८० साल लागेपछि मात्रै ८ वटा सहकारी विरुद्ध प्रहरीलाई पत्र काटिसकेको छ ।