विकास निर्माणमा खर्च भएको भुक्तानी गर्न पैसा नभएपछि सरकारले केन्द्रीय बैंकमार्फत विकास ऋणपत्र बिक्री गरी रकम उठाउने भएकोे छ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) १० अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र बिक्रीका लागि बोलपत्र अह्वान गरेको हो । राष्ट्र बैंकका अनुसार अपराह्न तीन बजेसम्म बोलकबोलको माध्यमबाट ‘विकास ऋणपत्र २०८६ ‘च’ (६वर्षे)’ बिक्री गर्न गरिनेछ । ऋणपत्रको निष्काशन २०८० असार २२ गते हुनेछ भने २०८६ असार २२ गते परिपक्व भई साँवा भुक्तानी हुनेछ ।
ऋणपत्र खरिदका लागि बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले आवेदन दिन पाउनेछन् ।ऋणपत्रको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने ऋणपत्रको ब्याज भुक्तानी अर्धवार्षिकरूपमा हुने र आर्जित ब्याजमा ब्याजकर लाग्नेछ । ऋणपत्र धितो राखी कर्जा लिन र दिन पाइनेछ ।
इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीरूपमा सहभागी भएर ऋणपत्र खरिद गर्न सक्नेछन् । छुट्याइएको रकममध्ये प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरूलार्ई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात् आठ अर्ब ८० करोड र एक अर्ब २० करोड रुपैयाँ तोकिएको छ । अप्रतिस्पर्धी बोलवालाहरूलाई छुट्याइएको रकमको लागि पूरा बोलप्राप्त नभएमा बाँकी हुनआउने रकम प्रतिस्पर्धी बोलवालाहरूलाई बिक्री गरिने राष्ट्र बैंकले जनाएको छ ।
अप्रतिस्पर्धी बोलवालाहरूलाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुनआएमा बोलवालाहरूलाई समानुपातिकरूपमा उक्त ऋणपत्रको रकम बाँडफाँट गरिने जनाएको छ ।खरिद गर्न पाउने सीमा घटीमा ५० हजार र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई ५० हजार रुपैयाँले भाग गर्दा निःशेष भाग जाने अंकसम्म तोकिएको छ । ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रियाअन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रूपमा मात्र भाग लिन व्यवस्था रहेको छ ।
राष्ट्र बैंकबाट इजाजत प्राप्त क, ख र ग वर्गका वित्तीय संस्थाले अप्रतिस्पर्र्धीको रूपमा भाग लिन पाउने छैनन् । ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेन्ज लिमिटेडमार्फत हुनेछ । अर्धवार्षिकरूपमा ब्याज भुक्तानी हुने र आर्जित ब्याजमा ब्याजकर लाग्ने ऋणपत्र धितो राखेर कर्जा लिन र दिन पाइने राष्ट्र बैंकले जनाएको छ ।