महेन्द्र शाही
सोलुखुम्बु,बैशाख ११
लकडाउनका कारण सोलुखुम्बुको खुम्बु क्षेत्रमा आवश्यक करिब ७ लाखबराबरको स्वास्थ्य सामग्री काठमाडौँमा नै रोकिएको छ । लकडाउनले हवाइ सेवा बन्द हुँदा खुम्बु पासङ ल्हामु गाउँपालिकाले खरिद गरेको मास्क, पञ्जा, सेनिटाइजर, पीपीई सेट, औषधिलगायतका सामग्री काठमाडौँमा थन्किएको गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत विनोद भट्टराईले जानकारी दिए ।
उनका अनुसार गाउँपालिकामा अहिले औषधिलगायतका कोरोना सुरक्षा स्वास्थ्य सामग्रीहरू अभाव रहेको छ । पालिकाको सबै वडामा मास्क, सेनिटाइजर, पीपीईलगायत अन्य औषधिहरू समेत सटेज हुनथालेको उनको भनाइ छ । लकडाउनअघि काठमाडौमा सामग्री अभाव भएकाले त्यसपछि खरिद गरिएका कुनै पनि सामग्री ढुवानी गर्न नसकिएको उनले बताए । खुम्बुमा ढुवानीको एक मात्र सजिलो विकल्प हवाइ मार्ग नै हो । तर, लकडाउनसँगै देशभरको हवाइ सेवा बन्द हुँदा खाद्यन्नसहित स्वास्थ्य सामाग्रीहरू ढुवानी गर्न नसकिएको प्रमुख प्रसाशकीय अधिकृत भट्टराईले बताए । यसैबीच खुम्बपासङ ल्हमु गाउँपालिका १ खरिखोलाबाट खुम्बु भित्रिने व्याक्तीहरू बढेको स्थानीयले बताएका छन् ।
खरिखोला प्रहरी चौकीमा सुरक्षाकर्मीको संख्या कम हुदा विभिन्न नाका हँुदै गाउँपालिका भित्रिने क्रम बढेको गाउँपालिका प्रवक्ता ल्हाक्पाछिरी शेर्पाले जानकारी दिए । ११ जनाको दरबन्दी रहेको खरिखोला प्रहरी चौकीमा अहिले ५ जना मात्रै प्रहरी हुँदा नाकाहरूमा कडाइ गर्न नसकिएको बताइएको छ । सिमिति प्रहरी भएकाले सीमामा कडाइ गर्न नसकिएको शेर्पाको भनाइ छ । रातारात खुम्बु भित्रिने व्याक्तिहरू बढेसँगै संक्रमण फैलिनसक्ने त्रास उत्पन्न भएको स्थानीय जांमु शेर्पाको भनाइ छ । नाकामा कडाइ गर्न दरबन्दीअनुसार प्रहरी व्यवस्थापन गरिदिन गाउँपालिकाले जिल्ला प्रसाशन कार्यालयलाई पत्राचारसमेत गरेको छ ।