काठमाडौं । नेपाल उद्योग परिसंघले सरकारी तथा सार्वजनिक संस्था, सेना, प्रहरीमा स्वदेशी वस्तुको प्रयोग अनिवार्य गर्न माग गरेको छ ।
परिसंघ पदाधिकारीले बुधबार उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री रमेश रिजालसँगको भेटमा यस्तो माग गरेका हुन् । आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सरकारी तथा सार्वजनिक संस्थामा स्वदेशी वस्तुको प्रयोग अनिवार्य गर्नुपर्नेमा परिसंघको जोड थियो । परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले मन्दीमा रहेको अर्थतन्त्रलाई उकास्न आवश्यक रहेको भन्दै त्यसका लागि प्रभावकारी बजेट कार्यान्वयनमा जोड दिए ।
परिसंघले ठूला उद्योग तथा व्यावसायिक कृषिका लागि जग्गामा हदबन्दी हुन नहुने, चोरी पैठारी नियन्त्रण गर्न कडाइ गर्नुपर्ने, उधारो उठाउने ऐन र अग्रिम जमानत कानुन ल्याउनुपर्ने माग समेत राखेको छ । औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा सञ्चालन गर्ने बजेटमा भएको घोषणा छिटो कार्यान्वयनमा लैजान पनि उनले आग्रह गरे ।