काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई लक्षित गरी ग्लोबल वैदेशिक रोजगार टेवा कर्जा योजना सञ्चालनमा ल्याएको छ । बैंकले वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि ५० हजार रुपैयाँदेखि एक लाख ५० हजार रुपैयाँसम्मको कर्जा विनाधितो प्र्रदान गर्नेछ । यो कर्जा १२ दशमलव शून्य आठ प्रतिशतको स्थिर ब्याजदरमा पाइनेछ । २१ वर्ष वा सोभन्दा बढी उमेरका नेपाल सरकारबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा जान लागेका तथा ग्लोबल आर्ईएमई बैंकमा कुनै पनि प्रकारको बचत खाता भएका नेपाली नागरिकले यस योजनाअन्तर्गत आईएमईपे वालेटबाट आवेदन दिई कर्जा प्राप्त गर्न सक्नेछन् ।
बैंकले नेपाल, भारत र भुटानबाहेक मलेसिया, साउदी अरब, कतार, ओमान, युएई, जापान, दक्षिण कोरिया र अन्य प्रचलित गन्तव्यहरूमा वैदेशिक रोजगारीका लागि जानेहरूलाई प्राथमिकताका आधारमा कर्जा उपलब्ध गराउने बताएको छ । उक्त कर्जाको अवधि १८ महिनाको रहेको छ । बैंकले युके एड, सिप दक्षता कार्यक्रम, आईएमईपे र आध्यान्त फन्ड म्यानेजमेन्ट लिमिटेडसँगको सहकार्यमा उक्त कर्जा कार्यक्रम ल्याएको हो ।
बैंकले मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले तीन सय ५७ शाखा कार्यालय, तीन सय ६२ वटा एटीएम, तीन सय २२ शाखारहित बैंकिङ सेवा, ६४ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी एक हजार एक सयभन्दा बढी सेवा केन्द्रबाट ४० लाखभन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ ।