काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले हकप्रद सेयर निष्काशनको लागि कुमारी क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । हाइड्रोपावरले प्रतिसेयर एक सय रूपैयाँ अंकित दरको एक करोड ४५ लाख कित्ता हकप्रद जारी गर्न लागेको हो । कम्पनीले सेयरधनीलाई एक बराबर एक अनुपातमा हकप्रद निष्काशन गर्न अनुमति प्रदान गरेको छ ।
सम्झौता—पत्रमा सिंगटी हाइड्रो इनर्जी लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक सुदिप खड्का तथा कुमारी क्यापिटलका तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको अधिकृत पँुजी दुई अर्ब ९० करोड रूपैयाँ, जारी पुँजी दुई अर्ब ९० करोड रूपैयाँ र हकप्रद सेयर निष्काशनपश्चात् कम्पनीको चुक्ता पुँजी दुई अर्ब ९० करोड रूपैयाँ हुने बताइएको छ ।
कम्पनीले निर्माण गरेको २५ मेघावाट क्षमताको सिगंटी खोला जलविद्युत् आयोजनाले २०७८ साउन १७ गतेबाट व्यापारिक उत्पादन सुरु गरेको थियो । कम्पनीका अनुसार हाल आयोजनाले ९७ प्रतिशत विद्युत् उत्पादन गरिरहेको छ । हकप्रद सेयर जारीबाट प्राप्त रकम अर्बिर इनर्जी प्रालिद्वारा प्रबर्धित सभाखोला ‘बी’ २१.५ मेघावाट र सभाखोला ‘सी’ ६.३ मेघावाटमा ५१ प्रतिशत र ह््याविट्याट पावर कम्पनी प्रालिद्वारा प्रबर्धित हेवा ए सान जलविद्युत् आयोजना सात दशमलव पाँच मेघावाटमा ५१ प्रतिशत लगानी गर्ने कम्पनीले जनाएको छ ।