काठमाडौं,युक्रेनलाई क्लस्टर बम उपलब्ध गराउने वाशिङ्गटनको निर्णयमाथि अधिकांश अमेरिकी सहयोगी राष्ट्रहरूले असन्तुष्टि व्यक्त गरेका छन्।
शुक्रवार राष्ट्रपति जो बाइडनले “धेरै कठिन निर्णय”को सङ्ज्ञा दिँदै अमेरिकाले युक्रेनमा विवादास्पद अस्त्रहरू पठाउने विषय पुष्टि गरेका थिए।
प्रतिक्रिया स्वरूप यूके, क्यानडा, न्यूजील्यान्ड र स्पेनले आफूहरू उक्त अस्त्र प्रयोगको विरुद्ध उभिएको बताएका छन्।
क्लस्टर बमले आम नागरिकलाई निम्त्याउने जोखिमका कारण यो एक सयभन्दा बढी देशहरूमा प्रतिबन्धित छ।
क्लस्टर उपकरणले ससाना बमहरू ठूलो क्षेत्रमा विस्फोट गराउँछ। यद्यपि तीमध्ये अधिकांश विस्फोट हुँदैनन् जसलाई "डड्स" भनिन्छ।
विस्फोट नभएका यस्ता बमहरूमाथि कसैले कुल्चिँदा वा अन्य छेडखानी हुँदा विस्फोट हुने सम्भावना हुन्छ जसले मान्छे मार्न वा अङ्गभङ्ग पार्न सक्छ।
बाइडनले शुक्रवार सीएनएनसँगको एक अन्तर्वार्तामा, आफूले ८० करोड अमेरिकी डलर बराबरको सैन्य राहत सामग्री अन्तर्गत अस्त्र दिने निर्णयबारे सहयोगी राष्ट्रहरूसँग छलफल गरेको बताएका थिए।
राष्ट्रपतिले "यस्तो निर्णय गर्न तयार हुन आफूलाई केही समय लागेको" बताए। यद्यपि "युक्रेनीहरूसँग अस्त्र कम हुँदै गएकाले” आफूले त्यस्तो कदम चालेको बताएका थिए।
मानव अधिकार समूहहरूले उक्त निर्णयको तत्कालै आलोचना गरेका थिए। एमनेस्टी इन्टरन्याश्नलले क्लस्टर अस्त्रहरू "द्वन्द्व समाप्त भएको लामो समयसम्म नागरिक जीवनका गम्भीर खतरा" बन्न सक्ने बताएको छ।
राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले पत्रकारहरू समक्ष अमेरिकाले युक्रेनमा पठाउन लागेको क्लस्टर बमहरूको असफलता दर रुसले युद्धमा प्रयोग गरेको उस्तै अस्त्रहरूको तुलनामा कम भएको बताएका थिए।
तर अमेरिकाका केही पश्चिमी सहयोगी राष्ट्रहरूले यसको निर्णयमा समर्थन जनाउन अस्वीकार गरेका छन्।
बाइडनको यस निर्णयले एक प्रतिशतभन्दा बढी असफलता दर भएका क्लस्टर अस्त्रहरूको उत्पादन, प्रयोग वा स्थानान्तरणलाई प्रतिबन्ध लगाएको विद्यमान अमेरिकी कानुनको उलङ्घन गर्छ।
युद्धको प्रारम्भमा रुसले क्लस्टर तथा भ्याक्युम बमहरूको प्रयोग गरिरहेको आरोपबारे ह्वाइट हाउसलाई प्रश्न गरिँदा तत्कालीन प्रेस सेक्रेटरीले त्यो आरोप साँचो भएको खण्डमा त्यो सम्भावित "युद्ध अपराध" हुने जनाएका थिए।
संयुक्त राष्ट्रसङ्घको मानव अधिकार कार्यालयका तर्फबाट बोल्दै मार्टा हुर्टाडोले भनिन्: "यस्ता अस्त्रहरूको प्रयोग अभिलम्ब रोकिनु पर्छ र यसलाई कुनै पनि स्थानमा प्रयोग गर्न हुँदैन।"
कुन देशले के भन्यो?
अमेरिकाको निर्णयबारे उनको अडानबारे प्रश्न गर्दा यूकेका प्रधानमन्त्री ऋषि सुनकले उक्त अस्त्रहरूको उत्पादन वा प्रयोगमा प्रतिबन्ध लगाउने र प्रयोगलाई निरुत्साहित गर्ने क्लस्टर अस्त्रसम्बन्धी अभिसन्धिमा हस्ताक्षर गरेका १२३ देशमध्ये यूके पनि एक भएको बताए।
न्यूजिल्यान्ड उक्त अभिसन्धिका लागि जोड दिने राष्ट्रहरूमध्ये एक हो। स्थानीय सञ्चारमाध्यमहरूले प्रकाशित गरेको प्रतिक्रिया अनुसार त्यहाँका प्रधानमन्त्रीले अझै स्पष्ट रूपमा अमेरिकाको निर्णयविरुद्ध बोले।
क्रिस हिप्किन्सले ती अस्त्रहरूले “अन्धाधुन्ध ढङ्गमा निर्दोष मानिसहरूलाई ठूलो क्षति पुर्याउने र सम्भवतः दीर्घकालीन प्रभाव पार्न सक्ने” बताए। उनले युक्रेनमा क्लस्टर बमको प्रयोगबारे न्यूजिल्यान्डको मत ह्वाइट हाउसलाई अवगत गराएको बताए।
स्पेनकी रक्षामन्त्री मार्गारिटा रोबल्सले युक्रेनमा केही हतियार र बम पठाउन नपाइने कुरामा आफ्नो देशको “दृढ प्रतिबद्धता” रहेको बताइन्। “क्लस्टर बमको विपक्षमा र युक्रेनको वैध प्रतिरक्षाका लागि पक्षमा छौँ जुन हामीलाई लाग्छ क्लस्टर बमको प्रयोगबाट सम्भव छैन,” उनले भनिन्।
क्यानडा सरकारले आफू त्यस्ता बमले बालबालिकामा पार्न सक्ने सम्भावित असरबारे चिन्तित रहेको बताएको छ।
क्यानडाले पनि आफू क्लस्टर बमको प्रयोगको विपक्षमा रहेको र यससम्बन्धी अभिसन्धिको पूर्ण पालना गरिरहेको बताएको छ। "हामी यस सम्झौतालाई विश्वव्यापी रूपमा आत्मसात् गर्न प्रोत्साहित गर्ने सन्धि अन्तर्गतको हाम्रो दायित्वलाई गम्भीरतापूर्वक लिन्छौँ," एक विज्ञप्तिमा जनाइएको छ।
अमेरिका, युक्रेन र रुसले उक्त अभिसन्धिमा हस्ताक्षर गरेका छैनन् भने मस्को र किएभ दुवैले युद्धका क्रममा क्लस्टर अस्त्रहरू प्रयोग गरेका छन्।
यसैबीच अभिसन्धिमा हस्ताक्षर गरेको जर्मनीले आफूले युक्रेनलाई त्यस्ता हतियार नदिने तर अमेरिकी अडानमा समर्थन रहेको जनाएको छ।
युक्रेनका रक्षमन्त्रीले क्लस्टर अस्त्रहरू सहरी क्षेत्रमा नभई दुस्मनको प्रतिरक्षा सीमाहरू तोड्न मात्र प्रयोग गरिने बताएका छन्।
अमेरिकाका लागि रुसी राजदूतले बाइडनको उक्त निर्णयको भर्त्सना गरेका छन्।
"क्रूरता र निन्दाबीच वाशिङ्गटनले किएभमा घातक अस्त्रहरू हस्तान्तरण गर्न अपनाएको नीति भर्त्सनायोग्य छ," अनातोली एन्टोनोभलाई उद्धृत गर्दै तास समाचार संस्थाले जनाएको छ।
अमेरिकाका लागि रुसी राजदूतले बाइडनको उक्त निर्णयको भर्त्सना गरेका छन्।
"क्रूरता र निन्दाबीच वाशिङ्गटनले किएभमा घातक अस्त्रहरू हस्तान्तरण गर्न अपनाएको नीति भर्त्सनायोग्य छ," अनातोली एन्टोनोभलाई उद्धृत गर्दै तास समाचार संस्थाले जनाएको छ।
गत महिना सुरू भएको युक्रेनको प्रत्याक्रमण गतिविधि पूर्वी डोनेट्स्क र दक्षिण-पूर्वी जापोरिजा क्षेत्रमा बढिरहेको छ।
गत साता युक्रेनका सैन्य कमाण्डर-इन-चीफ भ्यालेरी जालुज्नीले अस्त्रहरू पर्याप्त नहुँदा प्रत्याक्रमण अभियानमा बाधा परेको बताएका थिए। पश्चिमले प्रतिबद्धता जनाएको अस्त्रहरू हस्तान्तरणमा ढिलाइ भएकोमा पनि उनले निराशा व्यक्त गरेका थिए।
नेटोका महासचिव जेन्स स्टोल्टनवर्गले उक्त सैन्य गठबन्धनले क्लस्टर अस्त्रहरूलाई लिएर आफ्नो आधिकारिक धारणा नराखेको बताए।
सन् २०१० यता १०० बढी देशहरू सम्मिलित क्लस्टर गोलाबारीसम्बन्धी अभिसन्धिपछि ठूलो आकारका क्लस्टर बमहरूको प्रयोगमा प्रतिबन्ध लगाइएको छ। जसअन्तर्गत त्यसको प्रयोग, उत्पादन, स्थानान्तरण वा भण्डारण गर्न पाइँदैन। तर अमेरिका, युक्रेन र रुस यस सम्झौताको पक्षमा छैनन्।
क्लस्टर अस्त्र के हो?
मानिसलाई मार्ने वा सवारी साधनलाई ध्वस्त पार्ने उद्देश्यले क्लस्टर बमको निर्माण गरिएको हुन्छ। अन्य प्रकारका क्लस्टर बमहरू विमानस्थलका धावनमार्ग र जमिनमुनि बिछ्याइएका विस्फोटक धराप नष्ट गर्न वा रासायनिक वा जैविक हतियार फैलाउन पनि प्रयोग गरिन्छ।
तिनीहरू जमिनमा खस्ने बित्तिकै विस्फोट हुने गरी बनाइएको हुन्छ। यद्यपि तीमध्ये अधिकांश विस्फोट हुँदैनन् जसलाई "डड्स" भनिन्छ अर्थात् तिनीहरू प्रारम्भमा विस्फोट हुँदैनन्। यस्तो प्राय जमिन ओसिलो वा नरम छँदा हुन्छ।
केही समयपश्चात् तिनीहरू माथि कसैले कुल्चिँदा वा अन्य छेडखानी हुँदा विस्फोट हुने सम्भावना हुन्छ जसले मान्छे मार्न वा अङ्गभङ्ग पार्न सक्छ।
क्लस्टर डिभाइसले ससाना बमहरू ठूलो क्षेत्रमा विस्फोट गराउने भएकाले आक्रमण हुँदाको समय र आक्रमण पछि पनि गैरसैनिक नागरिकहरू जोखिममा पर्छन्।
यस्ता अस्त्रहरूका कारण विशेषगरी बच्चाहरूलाई चोटपटक लाग्ने जोखिम हुन्छ किनकि त्यसका बमबारीहरू आवासीय क्षेत्र वा खेतबारी वरपर छोडिएका हुन्छन् जुन सानो खेलौना जस्तै देखिन्छन्। त्यस्ता वस्तुलाई प्रायः जिज्ञासाका कारण चलाइन्छ।
सैन्य परिप्रेक्ष्यमा यी अस्त्रहरू जमिन खनेर बनाइने बङ्करमा रहेका सैनिकहरू र सहजै पहुँच नभएका निशानामाथि आक्रमण गर्न प्रभावकारी ठानिन्छ।
मानवाअधिकार समूहहरूले क्लस्टर अस्त्रहरूलाई "घृणित" र युद्ध अपराधको रूपमा व्याख्या गरेका छन्।
यसअघि कहाँ प्रयोग भएको थियो?
क्लस्टर बमहरू यसअघि भियतनाम, कम्बोडिया, कोसोभो, अजरबैजान, अफगानिस्तान र सिरियासहित धेरै स्थानमा प्रयोग भइसकेका छन्।
सन् २००६ को लेबनान युद्धमा इजरेलले हिजबुल्लाह फौजविरुद्ध प्रयोग गरेपछि यस्ता अस्त्रहरूमा प्रतिबन्ध लगाइएको थियो।
सानो आकार र गाढा रङ्गका कारण विस्फोट नभएका यस्ता क्लस्टर बमहरू प्रायःजसो बालबालिकाहरूले टिप्ने गर्छन्।संयुक्त राष्ट्रसङ्घको आकलनअनुसार ३० देखि ४० प्रतिशतसम्म इजरेलले प्रहार गरेका क्लस्टर बमहरू तत्काल विस्फोट भएका थिएनन्।
यस्ता बमहरू खेलौनाजस्ता देखिन्छन् र गाढा रङ्गका कारण टिपेर खेलाउन बालबालिका लोभिन्छन्। लेबनन युद्धपछि यस्ता उपकरणहरूका कारण २० जनाको मृत्यु हुनुका साथै १९५ जना घाइते भएका थिए। (बीबीसी)