काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमबार पुनः २७ अर्ब ६० करोड रुपैयाँबराबरको आन्तरिक ऋण उठाउने भएको छ । चालू आर्थिक वर्षमा सरकारको विभिन्न खर्चको लागि कुल दुई खर्ब ५६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने दायित्व बोकेको राष्ट्र बैंकले आज पुनः ट्रेजरी बिलको बिक्री गरी २७ अर्ब ६० करोड रुपैयाँ आन्तरिक ऋण उठाउन लागेको हो । यो ऋणपत्र पुरानो नवीकरणअन्तर्गतको रहेको राष्ट्र बैंकले जनाएको छ ।
ट्रेजरी बिल खरिदका लागि बैंक तथा वित्तीय संस्थाले अपराह्न तीन बजेसम्म बोलकबोलको माध्यमबाट आवेदन दिन सक्नेछन् । कुल ट्रेजरी बिलमध्ये २८ दिन अवधिको पाँच अर्ब, ९१ दिन अवधिको आठ अर्ब, एक सय ८२ दिन अवधिको छ अर्ब र तीन सय ६४ दिन अवधिको आठ अर्ब ६० करोड रुपैयाँ रहेको छ ।
असार २६ गते मंगलबारदेखि जारी हुने ट्रेजरी बिल खरिदका लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले बोलकबोल पेस गर्न सक्नेछन् । राष्ट्र बैंकका अनुसार २८ दिन अवधिको ट्रेजरी बिल २०८० साउन २३ गते, ९१ दिनको २०८० असोज २३ गते, एक सय ८२ दिन अवधिको २०८० पुस २४ गते र तीन सय ६४ दिन अवधिको २०८१ असार २६ गते परिपक्व हुनेछन् । ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।