काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेताहरू संघीय संसद्को अवरोध खुलाउन छलफल गरिरहेका छन् । प्रतिनिधि सभाको बैठक दिउँसो ३ बजे बस्नु अघि प्रधानमन्त्री प्रचण्डसहित कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा छलफल हुन लागेको हो।
सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डले स्पष्टीकरण दिने र एमाले अवरोध हटाउन तयार हुने सहमति भए पनि संसद् भवन पुगेपछि बिथोलिएको थियो। आइतबार पनि प्रमुख दलका शीर्ष नेताहरूबीच छलफल भएको थियो।
गत असार २१ गते प्रधानमन्त्रीको सचिवालयले निकालेको प्रेस विज्ञप्तिप्रति ओलीले आपत्ति जनाएपछि हिजो अवरोध हट्न नसकेको बताइएको छ। सोमबार त्यसलाई पनि सम्बोधन गरेर प्रधानमन्त्रीले स्पष्टीकरण दिने तयारी गरिरहेको उनको सचिवालयले जानकारी गराएको छ ।