मुलुकको अर्थतन्त्रको बाह्य क्षेत्रका केही सूचकहरूमा सुधार देखिएको छ । एक वर्षअघिको तुलनामा रेमिट्यान्स आप्रवाह बढेको र आयात घटेका कारण विदेशी मुद्रा सञ्चिति बढेको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको आर्थिक तथा वित्तीय स्थितिमा केही सूचकहरूमा राम्रो सुधार देखिएको छ । विदेशमा श्रम गर्ने नेपालीले पठाएको रेमिट्यान्स र चालू आर्थिक वर्षको सुरुमा सरकारले केही विलासी वस्तुको आयातमा लगाएको प्रतिबन्धका कारण केही सूचकहरू बलिया देखिएका हुन् । गतवर्ष जेठ मसान्तमा दुई खर्ब ६९ अर्ब रुपैयाँले घाटामा रहेको शोधनान्तर स्थिति यस वर्ष दुई खर्ब २८ अर्बले बचतमा देखिएको छ ।
तर, वैदेशिक लगानी, निर्यात व्यापार, वैदेशिक सहयोगलगायतका सूचकहरू सकारात्मक छैनन् । देशको आन्तरिक अर्थतन्त्र बलियो बनाउन रेमिट्यान्सभन्दा पनि यी सूचकहरू महत्वपूर्ण मानिन्छन् । रेमिट्यान्सको अधिकांश पैसा उपभोगमा जाने र त्यो उपभोग आयातबाटै पूरा हुने भएकाले आर्थिक विकासमा रेमिट्यान्सको योगदान निकै कम मानिन्छ । हाम्रो आफ्नै उत्पादनले उपभोगको आवश्यकता पूरा नहुने भएकाले आर्थिक क्रियाकलाप बढाउन आयात बढ्नु पर्छ । तर, आयात नियन्त्रण गरेर विदेशी मुद्रा सञ्चिति बढाइएकाले आन्तरिक अर्थतन्त्रका गतिविधि खुम्चिँदै गएको देखिन्छ ।
यही कारण आन्तरिक अर्थतन्त्रमा तत्काल सुधार हुने संकेत छैन । वित्तीय प्रणालीमा लगानीयोग्य रकम थुप्रिँदै गएको छ । तर, सरकार र निजी क्षेत्रसँग कुनै योजना नहुँदा बैंकहरूलाई कर्जा प्रवाह गर्ने भरपर्दो ठाउँ छैन । बजारमा माग पक्ष कमजोर भएकाले आर्थिक गतिविधि खुम्चिँदै गएको छ । सरकारको राजस्व संकलन दयनीय अवस्थामा छ । आर्थिक वर्ष सकिन पाँच दिन बाँकी रहँदा सरकारले जम्मा ६२ दशमलव ३४ प्रतिशत मात्रै राजस्व आम्दानी गरेको छ । पुुँजीगत खर्च ५५ प्रतिशतमा सीमित छ ।
नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक एवं अर्थशास्त्री नरबहादुर थापा अर्थतन्त्रको बाह्य क्षेत्रमा चाहिएको सुधार नभएको बताउँछन् । ‘वैदेशिक सहयोग पोहोरभन्दा घटेको छ, वस्तु निर्यात घटेको छ, सेवा निर्यात पनि अझै ऋणात्मक छ जुन हाम्रो आन्तरिक अर्थतन्त्रसँग जोडिएका विषयवस्तु हुन् जसमा कुनै सुधार आएको छैन’, उनले भने, ‘रेमिट्यान्स बढेको छ, विदेशी विनिमय सञ्चिति बढेको छ तर यी विषय आन्तरिक अर्थतन्त्रसँग नजोडिएको हुनाले हामीले अरु सूचकहरू हेर्नुपर्छ ।’
अर्थशास्त्री थापाले नेपालको अर्थतन्त्र चलायमान हुनको लागि प्रतिमहिना दुई खर्ब रुपैयाँभन्दा बढीको आयात हुनुपर्ने बताए । आयात नियन्त्रण गरेर विदेशी मुद्रा बचाउँदा देशको आर्थिक गतिविधि नबढ्ने बताए । उनले भने, ‘नेपालको अर्थतन्त्र विस्तार हुनको लागि मासिक दुई सय अर्बबराबरको आयात हुनुपर्छ तर त्यसको लागि भरपर्दो स्रोत छैन । हामीले आयात गरेर विदेशी मुद्रा बचाएका हौँ । आयात नियन्त्रण गर्दा अर्थतन्त्रका अवयवहरू थोक तथा खुद्रा व्यापार, यातायात, बैंकिङ क्षेत्र, कर्जालगायतमा सुधार आउँदैन । अब दुई सय अर्ब रुपैयाँबराबरको आयात नहुँदासम्म अर्थतन्त्र चलायमान भएको मान्न र राजस्व असुली हुन गाह्रोे छ ।’ आन्तरिक आर्थिक गतिविधि बढाउनको लागि वैदेशिक लगानी र सहयोग आवश्यक पर्नेमा सरकार तथा निजी क्षेत्रबाट कुनै योजना आउन नसकेको थापाले बताए ।
रेमिट्यान्स ११ खर्ब १२ अर्ब भित्रियो
चालू आर्थिक वर्षको ११ महिनामा ११ खर्ब १२ अर्ब ५२ करोड रुपैयाँबराबरको रेमिट्यान्स भित्रिएको छ । यो रेमिट्यान्स गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २२ दशमलव सात प्रतिशतले बढी हो । गत आर्थिक वर्षको जेठ मसान्तसम्म नौ खर्ब चार अर्ब रुपैयाँबराबरको रेमिट्यान्स भित्रिएको थियो । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १३ प्रतिशतले वृद्धि भई आठ अर्ब ५१ करोड पुगेको छ । अघिल्लो वर्ष सात अर्ब ५१ करोड भित्रिएको थियो ।
विदेशी मुद्रा सञ्चिति करिब १५ खर्ब
रेमिट्यान्स आप्रवाह बढेको र आयात घटेका कारण विदेशी मुद्रा सञ्चितिमा सुधार देखिएको छ । जेठ मसान्तसम्म विदेशी मुद्रा सञ्चिति १४ खर्ब ८० अर्ब ८७ करोड रुपैयाँ पुगेको छ । २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँबराबर रहेको विदेशी विनिमय सञ्चिति ११ महिनामा २१ दशमलव आठ प्रतिशतले बढेको हो । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा नौ अर्ब ५४ करोड रहेकोमा २०८० जेठ मसान्तमा १८ दशमलव पाँच प्रतिशतले वृद्धि भई ११ अर्ब ३० करोड कायम भएको छ । कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ दशमलव नौ प्रतिशत छ ।राष्ट्र बैंकका अनुसार अहिले कायम विदेशी विनिमय सञ्चितिले ११ महिना छ दिनलाई पुग्ने वस्तु आयात वा नौ महिना १८ दिनलाई पुग्ने वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ ।
शोधनान्तर खाता बचतमा
मुलुकको शोधनान्तर स्थिति बचतमा देखिएको छ । राष्ट्र बैंकका अनुसार जेठ मसान्तसम्म शोधनान्तर स्थिति दुई खर्ब २८ अर्ब ९८ करोडले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति दुई खर्ब ६९ अर्ब ८१ करोडले घाटामा थियो । गतवर्ष दुई अर्ब २६ करोड अमेरिकी डलरले घाटामा रहेको शोधनान्तर स्थिति यस वर्ष एक अर्ब ७४ करोडले बचतमा छ । चालू खाता भने अहिले पनि ६९ अर्ब ४० करोडले घाटामा छ । गतवर्ष जेठ मसान्तमा चालू खाता पाँच खर्ब ९२ अर्ब १४ करोडले घाटामा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा चार अर्ब ९३ करोडले घाटामा रहेको चालू खाता समीक्षा अवधिमा ५३ करोड ६१ लाखले घाटामा छ ।
सेवा क्षेत्र अझै घाटामा
जेठ मसान्तसम्म खुद सेवा आय ६७ अर्ब ६८ करोड रुपैयाँले घाटामा छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ९९ अर्ब ५० करोड रुपैयाँले घाटामा थियो । सेवा खाताअन्तर्गत भ्रमण आय ९४ दशमलव ३ प्रतिशतले वृद्धि भई ५८ अर्ब छ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २९ अर्ब ८८ करोड रुपैयाँ थियो ।
नेपालबाट विदेश भ्रमणमा जानेले यो ११ महिनामा एक खर्ब १९ अर्ब ९९ करोड रुपैयाँ लगेका छन् । यसमध्ये विद्यार्थीहरूले ८९ अर्ब १८ करोड रुपैयाँ लगेका छन् । गतवर्षको सोही अवधिमा भ्रमण व्यय ८७ अर्ब तीन करोड रुपैयाँ रहेकामा विद्यार्थीले विदेश अध्ययनका लागि ५९ अर्ब ९९ करोड रुपैयाँ विदेश लगेका थिए ।
मूल्यवृद्धि नियन्त्रणमा
अघिल्लो महिनाभन्दा मूल्यवृद्धि नियन्त्रणमा आएको छ । २०८० वैशाख मसान्तमा सात दशमलव ४१ प्रतिशत रहेको उपभोक्ता मुद्रास्फीति जेठ मसान्तमा छ दशमलव ८३ प्रतिशतमा झरेको छ । गतवर्ष जेठ मसान्तमा मुद्रास्फीति आठ दशमलव ५६ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति पाँच दशमलव ६६ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति सात दशमलव ७६ प्रतिशत छ ।
खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत मरमसला उपसमूहको वार्षिक विन्दुगत मूल्य सूचकांक ३५ दशमलव २९ प्रतिशत, रेस्टुरेन्ट तथा होटलको १४ दशमलव ३६ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १३ दशमलव शून्य छ प्रतिशत, दुग्धपदार्थ तथा अण्डाको १० दशमलव ९८ प्रतिशत र सुर्तीजन्य पदार्थको आठ दशमलव ४९ प्रतिशतले बढेको छ । घ्यू तथा तेल उपसमूहको वार्षिक विन्दुगत मूल्य सूचकांक १६ दशमलव छ प्रतिशतले घटेको छ । क्षेत्रगत आधारमा काठमाडौं उपत्यकामा सात दशमलव १९ प्रतिशत, तराईमा छ दशमलव ९३ प्रतिशत, पहाडमा छ दशमलव २८ प्रतिशत र हिमालमा छ दशमलव ३९ प्रतिशत मुद्रास्फीति छ ।