दोलखा । बैतेश्वर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ को लागि ल्याएको बजेट १३औँ गाउँसभा तथा अधिवेशनबाट पारित भएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि ल्याएको ५० करोड ९८ लाख रुपैयाँ बराबरको बजेट सोमबार गाउँसभाबाट पारित भएको हो ।
गाउँपालिका अध्यक्ष छवि लामाको अध्यक्षतामा सम्पन्न १३औँ गाउँसभाको बजेट अधिवेशनमा पालिका उपाध्यक्ष कल्पना उप्रेतीले आगामी आर्थिक वर्षको लागि तयार पारेको बजेट तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । सभामा उपाध्यक्ष उप्रेतीले पूर्वाधार विकासतर्फ २२ करोड ८२ लाख ७८ हजार बजेट विनियोजन गरेको जानकारी दिइन् । यस्तै, आर्थिक विकासतर्फ दुई करोड ५६ लाख ८० हजार, सामाजिक विकासतर्फ १६ करोड ७० लाख, सुशासनतर्फ ८० लाख ५० हजार, कार्यालय सञ्चालन तथा प्रशासनिकतर्फ आठ करोड ९४ लाख रुपैयाँ बजेट विनियोजन गरेको उनले बताइन् । यस्तै, राजस्व बाँडफाँटतर्फ एक करोड ८४ लाख, समपूरक अनुदानतर्फ एक करोड ५० लाख छुट्याइएको छ ।
गाउँपालिकाले आगामी बजेटमा मुख्य प्राथमिकता ग्रामीण सडक स्तरोन्नतिलाई दिएको छ । स्थानीय आठ वडाका मुख्य सडक स्तरोन्नति तथा ढलान र पिच गर्न, स्थानीय पक्की गोरेटो बाटो निर्माण गर्न २२ करोड ८२ लाख विनियोजन गरेको छ । पालिकाको मुख्य प्राथमिकतामा रहेका सडकमा बुस्ती–पुतलीकाठलाई दुई करोड, गोपी जिरमाने सडकलाई दुई करोड, मैनापोखरी क्षेत्रपा सडकलाई दुई करोड, पाइले निम्कोट पाडु डाँडा सडकलाई एक करोड विनियोजन गरेको छ । त्यसैगरी समपूरक अनुदानअन्तर्गत नाम्दु–पाँडुडाँडा सडकलाई एक करोड २५ लाख, ज्यामिरे बगर सडकलाई ५० लाख, अस्पताल गाउँपालिका सडकलाई ५० लाख, च्यान्डाँडा छाप सडकलाई ५० लाख विनियोजन गरेको छ ।
त्यसैगरी सूचना तथा प्रविधितर्फ ४५ लाख, महिला बालबालिका कार्यक्रमको लागि १० लाख, लघुउद्यम कार्यक्रमतर्फ तीन लाख, कृषितर्फ २२ लाख, शिक्षा तथा खेलकुद विकासतर्फ एक करोड ४३ लाख छुट्याएको छ । यस्तै, स्वास्थ्यतर्फ एक करोड ५२ लाख, पशु भेटेरिनरीतर्फ २१ लाख २० हजार, न्यायिक समितिलाई चार लाख ५० हजार र चालू खर्चतर्फ आठ करोड ९४ लाख बजेट विनियोजन गरेको छ । साथै, पालिकाले बालविकास सहजकर्ताको तलबसमेत वृद्धि गरेको छ ।