काठमाडौं । चीन सरकारको नेसनल डेभलपमेन्ट एण्ड रिफर्म कमिसन (एनडिआरसी) का उपाध्यक्ष छोङ लियाङ र चीन भ्रमणमा रहेका राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठबीच चीनको बेइजिङस्थित एनडिआरसीको कार्यालयमा मंगलबार भेटवार्ता भएको छ ।
योजना आयोग र एनडिआरसीका बीचमा सन् २०१८ र २०१९ मा भएका सम्झौता अनुसारका कार्यक्रममध्ये सम्पन्न हुन बाँकीलाई द्रुतगतिमा अगाडि बढाउने उक्त भेटवार्तामा समझदारी भएको छ । त्यसक्रममा नेपाल र चीन सरकारको तर्फबाट गर्नुपर्ने कामका बारेमा विस्तृत रुपमा छलफल भएको थियो ।
नेपाल आगामी १६औँ योजना तर्जुमा गर्न गइरहेको सम्बन्धमा आगामी दिनमा चिनियाँ समकक्षी निकाय एनडिआरसीको अनुभव सेयर गर्ने र प्राविधिक सहयोग उपलब्ध गराउने विषयमा पनि छलफल भएको थियो ।
एनडिआरसीका उपाध्यक्ष लियाङलाई आयोगका उपाध्यक्ष डा श्रेष्ठले उपयुक्त समयमा नेपालको भ्रमण गर्न निमन्त्रणा दिएका छन् । यसअघि स्टेट प्लानिङ कमिसनको रुपमा रहेको सो चिनियाँ संस्था हाल एनडिआरसीका रुपमा चिनिन्छ । यस्तै आयोगद्वारा अगाडि बढाइएको बेल्ट एण्ड रोड इनिसिएटिभ ९बीआरआई० हाल कार्यान्वयनको चरणमा रहेको छ ।
चिनियाँ विकास उपमन्त्रीसँग छलफल
चीनको राजधानी बेइजिङमा आयोजना भइरहेको ‘फोरम अन ग्लोबल एक्सन फर शेयर्ड डेभलपमेन्ट’सम्बन्धी पहिलो उच्चस्तरीय अन्तर्राष्ट्रिय सम्मेलनको आयोजक संस्थाको रुपमा रहेको उक्त संस्था चीन सरकारको अन्तर्राष्ट्रिय सहयोगसम्बन्धी काम हेर्ने निकाय हो । आयोगका उपाध्यक्ष डा श्रेष्ठ र चाइना इन्टरनेसनल डेभलपमेन्ट एजेन्सी (सिआईडिसिए)का उपमन्त्री डेङ बोगिङबीच द्विपक्षीय भेटवार्तासमेत भएको छ ।
भेटवार्ताका क्रममा पहिले समझदारी गरिएका प्रमुख कनेक्टीभिटीसँग सम्बन्धित आयोजनालाई छिटो अघि बढाउनका लागि दुवैतर्फबाट गर्नुपर्ने पूर्वतयारीका कार्य बेलैमा सम्पन्न गर्ने बारेमा छलफल भएको थियो । साथै दुई पक्षबीच चीन सरकारद्वारा नेपालका लागि घोषणा गरिएका सहयोग अन्तर्गतका विभिन्न कार्यक्रम तथा परियोजनाको कार्यान्वयन प्रगती सम्बन्धमा छलफल भएको थियो ।
आयोग उपाध्यक्ष डा. श्रेष्ठले आजै चिनियाँ उपराष्ट्रपति हाङ चेफ्सँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । दुवै भेटवार्तामा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठलगायत दूतावासका उच्च अधिकारी र नेपाली प्रतिनिधिमण्डलका सदस्य तथा चीन सरकारका उच्च अधिकारी सहभागी थिए ।