काठमाडौं : कमलपोखरीबाट सरेको प्रहरी वृत्त मालीगाउँका डीएसपी अनिषकुमार कर्णले खुलेआम सेटिङको धन्दा चलाउँदै आएको थाहा भएको छ । डीएसपी कर्णले गत वैशाख ३१ गते एनआरके फिटनेस ज्ञानेश्वरका नवराज कार्कीलाई फोन गरेर तिम्रो विरुद्ध कुटपिट गरेको उजुरी परेको छ भनी वृत्तमा बोलाएका थिए । कार्कीले त्यस दिन आउन नसक्ने जनाएर भोलिपल्ट भेट्न पुगेका थिए । डीएसपी कर्णले बोलाए पनि व्यवसायी कार्कीलाई भेटेनन् र सई मानबहादुर तामाङलाई भेट्न लगाएका थिए । सई तामाङले कार्कीलाई निवेदक सुशिल सिवाकोटीसँग बाहिर मिलापत्र गर्न दबाब दिएका थिए । तर, कार्कीले प्रहरीमा बोलाएर बाहिर मिलापत्र गर्न साँठगाँठ गरेर व्यवसायी कार्कीलाई फसाउन खोजेको कुरो दिन बित्दै जाँदा क्रमशः खुल्दै गएको छ ।
शिवाकोटीले गत जेठ १ गते प्रहरीमा निवेदन दिएका थिए । निवेदनमा मिति २०८० वैशाख ३० गते शनिबारका दिन अन्दाजी १३ः१५ बजेको समयमा म निवेदक विपक्षीले सञ्चालन गर्दै आएको फिटनेसमा गई विपक्षीसँग काम गरेको पारिश्रमिकको कुरा गर्दा उल्टै मलाई अपशब्द, अश्लील शब्द प्रयोग गरी धाकधम्की गरी, जथाभावी गालीगलौज गरी जे गर्न सक्छस् गर भन्दै याताना दिएको उल्लेख गरेका छन् । तर, शनिबार एनआरके फिटनेस बन्द रहेकोले उनको दाबी असत्य साबित भएको कार्कीले बताएका छन् । जेठ १ गते शिवाकोटीले निवेदन दर्ता गराएको र त्यसको अघिल्लो दिन नै डीएसपी कर्णले आफूलाई फोन गरेर बोलाउनुले शिवाकोटी र डीएसपीको सेटिङमा आफूलाई फसाउन खोजिएको उनले आशंका गरेका छन् ।
प्रहरी कार्यालयमा बोलाएर बाहिर मिलापत्र गर्न दबाब दिनु र चौकीबाहिर दुई दर्जनभन्दा बढी अपरिचित व्यक्तिहरूलाई उपस्थित गराउनुलाई पनि स्वाभाविक मानिएको छैन । पारिश्रमिक नपाएको र माग्न जाँदा यातना दिएको कुरा पनि असत्य रहेको कार्कीले बताएका छन् । शिवाकोटीले आफ्नो स्टाफ नरहेको र शनिबार बन्द रहेको फिटनेसमा यातना दिएको कुरा बनिबनाउ कथा मात्र भएको उनको भनाइ छ ।
गालीगलौज र यातना दिएको भन्ने व्यहोराको निवेदन पारिए पनि प्रहरीले आफूलाई दबाब दिई शिवाकोटीलाई ३० लाख रुपैयाँ दिन दबाब दिएको उनको भनाइ छ । कार्कीका अनुसार शिवाकोटीले आफ्नो जिमखाना ५२ लाख ४१ हजार रुपैयाँको कोटेसनमा ठेक्कामा काम गरेका थिए र उक्त रकम एक वर्षअघि नै लगिसकेका थिए । तर, कामचाहिँ सकेका थिएनन् र सम्पर्कबाट टाढा रहँदै आएका थिए । अहिले सिवाकोटीले डीएसपी कर्णसँग सेटिङ मिलाएर कोटेसनको भन्दा ३० लाख रुपैयाँ बढी मागेर व्यवसायी कार्कीलाई विभिन्न व्यक्तिमार्फत दबाब दिइरहेका छन् । तीमध्येको प्रमुख व्यक्ति मोर्डन पेन्टाथलोन संघको बागमती प्रदेशका अध्यक्ष कमल ढकाल रहेको कार्कीले बताएका छन् ।
डीएसपी कर्णले बदनियतपूर्वक एउटा निवेदन पारेर व्यवसायी कार्कीसँग मोटो रकम असुल्न बिचौलिया प्रयोग गरेको सुइँको पाएपछि महानगरीय प्रहरी परिसर काठमाडौंले फायल तानेपछि डीएसपी कर्णले निवेदनको मिति हातले सच्याएर अघिल्लो दिनको बनाएर फायल टेकु पठाएको थाहा भएको छ ।
टेकुले फायल ताने पनि डीएसपी कर्णले व्यवसायी कार्कीलाई प्रहरी र बाहिरका व्यक्तिबाट दबाब दिन छाडेका छैनन् । पछिल्लो पटक कालोपुल बिटका असई सन्तोश रसाइलीलाई उनले प्रयोग गरेका छन् भने प्रहरीबाहिरका झण्डै एक दर्जन व्यक्तिलाई प्रयोग गरिएको कार्कीले बताएका छन् । कार्कीलाई शान्ति सुरक्षा प्रदान गर्न काठमाडौंका सीडीओले गरेको लिखित निर्देशनलाई समेत डीएसपी कर्णले फायलमा थन्क्याएर बिचौलियामार्फत शिवाकोटीलाई ३० लाख रुपैयाँ नदिए सिध्याइदिने धम्की दिइरहेका छन् । तर, व्यवसायी कार्कीले कोटेसनमा कबुल गरेको भन्दा बढी रकम नदिने कुरा दोहो¥याउँदै आएका छन् ।
राजधानीको मध्य भागमा रहेको मालीगाउँमा नै डीएसपीले यसरी खुलेआम दादागिरी देखाएर व्यवसायीलाई धम्क्याएर रकम खान खोज्दछ भने दूरदराजमा रहेको चौकीका प्रहरीले जनतालाई कस्तो सास्ती दिनेगरेका होलान् भन्ने सहजै अनुमान गर्न सकिन्छ ।काम कोटेसनमा गर्ने र रकमचाहिँ त्योभन्दा बढी माग्न पाइन्छ ? भनी ठेकेदार शिवाकोटीलाई प्रश्न गर्दा काम कोटेसनमै गरेको बताएका छन् । अनि यसरी बढी रकम दे भनेर धम्क्याउन मिल्छ त ? भन्दा उनले आफ्नो रकम माग्दा धम्क्याएको भनिन्छ भने त्यही सही भन्ने जवाफ फर्काएका छन् । यसरी व्यवसायी कार्कीलाई प्रहरीमा बोलाएर असम्बन्धित व्यक्तिहरूको घेराबन्दीमा पारी धम्क्याएर रकम असुल्ने प्रयास किन गर्नुभएको ? भनी प्रश्न गर्न फोन सम्पर्क गर्दा डीएसपी कर्ण सम्पर्कमा आएनन् ।
व्यवसायी कार्कीको जिम बन्द गराउने भनी धम्की दिएर रकम झार्ने योजना बनाएर शिवाकोटीले कमल ढकाल, काभ्रेका ग्याल्जेन तामाङ, झापाका विक्रम थापा, विप्लव माओवादीका वासु पाठक, सञ्जोग राणालगायतका व्यक्तिलाई फोन गर्न लगाएर कार्कीलाई धम्क्याएका छन् । डीएसपी कर्णको प्रत्यक्ष संरक्षणमा उक्त घटना भएको हो । उक्त विवरणका बारेमा प्रतिक्रिया लिन ठेकेदार सिवाकोटीलाई फोन गरेको एक घण्टा बित्न नपाउँदै आफूलाई सञ्जोग राणा बताउने व्यक्तिले आर्थिक दैनिकका प्रतिनितिलाई ९८५१०४४५२१ बाट फोन गरेर समाचार छापेपछि भेटौँला भनी मानसिक दबाब दिएका छन् ।
फोन गर्नुभएको रहेछ भनेर उनले भनेपछि मैले तपाईँलाई फोन गरेको छैन भन्दा सुशिल शिवाकोटीलाई फोन गरेको रहेछ, त्यसैले मैले फोन गरेको भनी जवाफ दिएका छन् । फोन गर्ने सञ्जोक राणा कुँवर धादिङका युवा हुन् भने उनलाई परिचालन गर्ने कमल ढकाल स्याङ्जाका हुन् । ढकालले आफूलाई महाराजगञ्ज सुकेधारा क्षेत्रको पकड राख्ने प्रभावशाली युवा भन्ने गरेका छन् ।
