वित्तीय प्रणालीमा अधिक तरलता देखापरेको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार अहिले वित्तीय प्रणालीमा ५७ खर्ब १५ अर्ब रुपैयाँ तरलता छ । यसमध्ये बैंक तथा वित्तीय संस्थाले ४८ खर्ब ६१ अर्ब रुपैयाँ कर्जा प्रवावह गरेका छन् । आर्थिक वर्षको अन्तिम समय भएकाले कर्जाको माग शून्यजस्तै छ भने सरकारी खर्च बढेका कारण निक्षेप बढेको बढ्यै छ । दैनिक १०÷१५ अर्ब रुपैयाँका दरले निक्षेप बढिरहेको देखिन्छ तर कर्जाको माग नै छैन । यही कारण बैंकहरूको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८२ दशमलव शून्य ३ प्रतिशतमा झरेको छ ।
बैंक तथा वित्तीय संस्थाहरूले कुल निक्षेपको ९० प्रतिशतसम्म ऋण लगानी गर्न पाउने व्यवस्था छ । यो आधारमा हेर्दा अहिले बैंकहरूसँग करिब चार खर्ब ६० अर्ब रुपैयाँ अधिक तरलता छ । निक्षेप वृद्धिको तुलनामा ऋण लगानी निकै सुस्त भएका कारण अधिक तरलता देखिएको हो ।
अधिक तरलताका कारण राष्ट्र बैंकले जारी गरेको ट्रेजरी बिलको ब्याज पनि घटिरहेको छ । राष्ट्र बैंकका अनुसार सोमबार २८ दिन अवधिको ट्रेजरी बिलको ब्याजदर तीन दशमलव शून्य २ प्रतिशत, ९१ दिनको पाँच दशमलव २५ प्रतिशत, एक सय ८२ दिनको पाँच दशमलव ६२ प्रतिशत र तीन सय ६४ दिनको छ दशमलव ३४ प्रतिशत कायम भएको छ ।
अधिक तरलताको स्थितिलाई नियन्त्रण गर्न राष्ट्र बैंकले मंगलबार २० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट तानेको छ । राष्ट्र बैंकले रिभर्स रिपो जारी गरी १४ दिनका लागि सो रकम प्रशोचन गरेको हो । राष्ट्र बैंकले अन्तरबैंक ब्याजदर एक प्रतिशत नजिक झरेपछि बैंकहरूबाट रकम प्रशोचन गरेको हो । राष्ट्र बैंकको तथ्यांकअनुसार अहिले अन्तरबैंक ब्याजदर एक दशमलव एक दशमलव ३६ प्रतिशतमा झरेको छ । राष्ट्र बैंकले नीतिगत दरलाई ७ प्रतिशत राखेको छ । चालू आर्थिक वर्षको मौद्रिक नीतिबाट अन्तरबैंक दर नीतिगत दरभन्दा दुई प्रतिशतले तल झरेमा बजारबाट तरलता प्रशोचन गर्ने व्यवस्था गरेको छ ।