अर्थमन्त्री डा. प्रकाशशरण महतले वित्तीय क्षेत्रमा स्वस्थ प्रतिस्पर्धा जरुरी रहेको बताएका छन् । मंगलबार नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय समितिद्वारा आयोजित ‘नेपालको वित्तीय क्षेत्रका चुनौती, समाधानका उपाय तथा भावी कार्यदिशा’ विषयक सामाजिक संवाद कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. महतले उक्त कुरा बताएका हुन् ।
कार्यक्रममा उनले भने, ‘संघसंस्थाले सुविधा पाएनौँ मात्र नभनेर जिम्मेवारीप्रति कर्तव्यनिष्ठ र आफूलाई नियमन गर्नसक्यो भने देशको अर्थतन्त्र स्वस्थ्य प्रतिस्पर्धाको बाटोमा अघि बढ्न सक्छ ।’ उनले संघसंस्थाले आफ्नो हितका लागि मात्र काम गर्न नहुने बताए । आफ्ना सदस्यलाई जिम्मेवार र कर्तव्यनिष्ठ बनाउन हो भनेर लागेमा सकारात्मक नतिजा आउने अर्थमन्त्री महतले बताए । उनले भने, ‘ब्याजदरलगायत अन्य विषयमा मिलेमतोमा निर्धारण हुन थाल्यो भने ढिलोचाँडो त्यसले समस्या सिर्जना गर्छ । वित्तीय क्षेत्रमा स्वस्थ्य प्रतिस्पर्धा एकदमै जरुरी छ ।’
अर्थमन्त्री महतले बैंक र वित्तीय संस्थाहरूले अन्तर्राष्ट्रिय गुणस्तरको सेवा दिइरहेकोमा आफू विस्वस्त रहेको बताए । उनले सरकारी बैंकहरूमा थप सुधारको आवश्यकता रहेको बताएका छन् ।‘बैंकिङ क्षेत्रको यति धेरै वृद्धि हुँदाहुँदै पनि अप्ठ्यारामा परेका बैंकलाई राष्ट्र बैंकको सहयोगमा सुधार भएको पाइन्छ । कृषि विकास बैंकमा पनि सुधारको आवश्यकता छ’, उनले भने । निजी क्षेत्रको बैंकहरू पनि निक्षेपकर्ताको सुरक्षा के हुने हो भन्ने हाहाकारको अवस्था आउँदा पनि त्यसलाई तुरुन्तै पुनस्र्थापना गर्न सक्षम रहेको अवस्थाले नेपालको वित्तीय क्षेत्र नमूना रहेको बताए ।
अहिले लघुवित्त र सहकारीका क्षेत्रमा केही समस्या देखिएको उल्लेख गर्दै अर्थमन्त्री महतले आगामी आर्थिक वर्षकोे बजेटमा सहकारीलाई नियमनको घेराभित्र ल्याउने प्रस्ताव गरिएको बताए । उनले भने, ‘वित्तीय संस्था धेरै छन्, साना वित्तीय संस्थाले पनि ठूलो स्वरूप ग्रहण गरेका छन् । कतिपय वित्तीय संस्था निक्षेपकर्ताको काबुबाहिर गएको अवस्था पनि छ ।’ यस्तो परिस्थितिमा राष्ट्र बैंकले उचित निर्णय लिनेमा आफू विश्वस्त रहेको बताए ।
अर्थमन्त्री महतले अहिले अर्थतन्त्रको आन्तरिक क्षेत्रमा केही समस्या रहेकाले त्यसबाट बाहिर निस्कने कोसिस भइरहेको बताए । उनले पछिल्लो तथ्यांकअनुसार मूल्यवृद्धि घट्नुलाई सकारात्मक संकेतको रूपमा लिनुपर्ने बताए ।मौद्रिक नीति खुकुलो गर्दा मूल्यवृद्धिमा समस्या हुन्छ कि भन्ने राष्ट्र बैंकको चिन्ता भए पनि अहिले देखिएका सूचकहरूको स्थितिले मौद्रिक नीति खुकुलो बनाउन सहयोग पुग्ने भन्दै उनले मौद्रिक नीतिको लक्ष्य मूल्यवृद्धि नियत्रण गर्नेमा मात्रै सीमित हुन नहुने बताए । अर्थमन्त्री महतले भने, ‘आउँदो आर्थिक वर्षको सुरुमै मौद्रिक नीतिले यी कुरालाई सम्बोधन गर्नेछ ।
बैंकसँग तरलता भए पनि पुँजी प्रवाह नभएको अवस्थालाई यसले सम्बोधन गर्नेछ । बैंकिङ क्षेत्रले पनि आफ्नो तहबाट त्यहाँ रहेको समस्याहरू समाधानको बाटो खोज्नुपर्छ । ठूला लगानीकर्तामा मात्रै पुँजी प्रवाह गर्ने, मध्यम र साना लगानीकर्ताहरू पुँजी प्रवाह नगर्ने प्रवृत्ति अन्त्य हुनुपर्छ ।’बैंकर्स र उद्योगी व्यवसायी एउटै व्यक्ति हुँदा आफ्नै बैंकमा जम्मा भएको पुँजी आफ्नै उद्योगमा लगानी गर्ने परिपाटी रहेको बताए । आगामी दिनमा यो समस्यालाई ध्यान दिएर लगानीको संरचनालाई परिवर्तन गरिने बताए । बैंकिङ क्षेत्रले उत्पादनशील क्षेत्रमा लगानी गरेन, अनुत्पादक क्षेत्रमा धेरै लगानी भयो भन्ने परिप्रेक्ष्यमा वित्तीय क्षेत्र र राष्ट्र बैंकले त्यसतर्फ पनि ध्यान दिनेछ भन्ने विश्वास लिएको अर्थमन्त्री महतले बताए ।