विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोका–कोला, इनर्जी ड्रिङ्क्सलगायतमा प्रयोग हुने गुलियोले क्यान्सर हुने चेतावनी दिएको छ । डब्ल्यूएचओले कोका–कोलालगायत अन्य पेय तथा खाद्यपदार्थमा प्रयोग गरिने आर्टिफिसियल स्विट्नर एस्पाट्र्मले क्यान्सरको जोखिम बढाउने चेतावनी दिएको हो । एस्पाट्र्म कोका–कोला, डाइट सोडा, मार्स एक्स्ट्रा चुइगम र केही अन्य पेय तथा खाद्यपदार्थमा प्रयोग गर्ने गरिन्छ ।
डब्ल्यूएचओको अन्तर्राष्ट्रिय एजेन्सी फर रिसर्च अन क्यान्सर (आईएआरसी)ले यससम्बन्धी प्रतिवेदनको निष्कर्ष यही जुलाई १४ मा आधिकारिकरूपमा घोषणा गर्ने जनाएको छ । डब्ल्यूएचओको यो निष्कर्षले बहुराष्ट्रिय कम्पनीहरूमा हलचल पैदा भएको छ ।
प्रमाणहरूको आधारमा केही सम्भावित खतरा छ वा छैन भनेर मूल्यांकन गर्ने उद्देश्यले डब्ल्यूएचओले अनुसन्धान गरेको थियो र जुन महिनाको सुरुमै आईएआरसीले प्रतिवेदन तयार गरी निर्णय गरिसकेको बताइएको छ ।
अध्ययनले एक व्यक्तिले यस्तो पदार्थ कति उपभोग गर्दा सुरक्षित हुन्छ भन्ने कुरालाई ध्यान नदिएको बताइएको छ । व्यक्तिहरुका लागि खाद्यसम्बन्धी डब्ल्यूएचओको विशेषज्ञ समितिले छुट्टै प्रतिवेदन दिनेछ ।आईएआरसीको यो निर्णयले उपभोक्ताहरूलाई यस्ता खाद्य वस्तु उपभोग गरेको बारेमा चिन्ता बढाएको, मुद्दा दायर गरेको र निर्माताहरूलाई उत्पादनमा पुनर्विचार गर्न र विकल्पहरूमा जान दबाब दिएको छ । केही आलोचकहरूले आईएआरसीको मूल्यांकनले उपभोक्तालाई भ्रमित पार्ने भनेर आलोचना गरेका छन् ।
१९८१ देखि, संयुक्त डब्ल्यूएचओ र खाद्य तथा कृषि संगठनको खाद्यसम्बन्धी विशेषज्ञ समितिले एस्पाट्र्मको दैनिक उपभोग एउटा सीमाभित्र गर्न सुरक्षित रहेको जनाउँदै आएको थियो । उदाहरणका लागि, ६० किलो (१३२ पाउन्ड) तौल भएको वयस्कले हरेक दिन १२ देखि ३६ क्यान डाइट सोडा पिउन सक्छन् ।
त्योभन्दा बढी पेयपदार्थमा एस्पाट्र्मको मात्रामा जोखिम निर्भर गर्छ । यो दृष्टिकोण अमेरिका र युरोपका राष्ट्रिय नियामकहरूले व्यापक सेयर गरेका छन् । आईएआरसीका प्रवक्ताले यो निष्कर्ष जुलाईसम्म गोप्य रहेको बताएका छन् ।जापानको स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयका एक अधिकारी नोजोमी टोमिताले डब्ल्यूएचओका उपनिर्देशकलाई मार्च २७ मा लेखेको पत्रमा जनतालाई भ्रममा पार्न र चिन्ताबाट बच्न एस्पोट्र्मको समीक्षामा आफ्नो प्रयासहरू समन्वय गर्न अनुरोध गरेको छ ।