काठमाडौं । शैक्षिक परामर्श संस्थाहरूको सबैभन्दा ठूलो छाता संगठन नेपाल शैक्षिक परार्मश संघ (इक्यान)मा चुनावी महासंग्राम सुरु भएको छ । यही असार ३० गते हुने चुनावको मिति नजिकिएसँगै इक्यानमा चुनावी महासंग्राम सुरु भएको हो ।
इक्यानको अध्यक्षका लागि विष्णुहरि पाण्डे, शेषराज भट्टराई, देवीदास भट्टराई र कृष्णहरि केसीले उम्मेदवारी घोषणा गरेका छन् । चार जनाले उम्मेदवारी घोषणा गरेको भए पनि मुख्य प्रतिस्पर्धा विष्णुहरि पाण्डे र शेषराज भट्टराईबीच हुने देखिएको छ । पाण्डे समूहमा उपाध्यक्ष पदका लागि लक्ष्मण पौडेल, भुवन क्षेत्री र प्रकाश श्रेष्ठ, महासचिवमा वासुदेव दाहाल, सचिवमा फिलिपकुमार डाँगी क्षेत्री र शिवप्रसाद त्रिपाठी, कोषाध्यक्षमा विनोदकुमार सुवेदी र हेमराज सिग्देलले उम्मेदवारी दिएका छन् ।
यसैगरी कार्यसमिति सदस्यहरूमा आशिस रायमाझी, सुरज सिलवाल, सतेन्द्र झा, शशिप्रसाद भट्टराई, साधना पुडासैनी, शिवप्रसाद अर्याल, सन्तकुमार शर्मा, श्रीराम गिरी र मन्जित ढकालको उम्मेदवारी परेको छ ।
शेषराज भट्टराई समूहबाट उपाध्यक्ष पदका लागि श्रीराम पौडेल, गीता सिवाकोटी (गीताञ्जली) र दयाराम थापाले उम्मेदवारी घोषणा गरेका छन् । महासचिव पदका लागि दिपकराज भुषाल, सचिव पदका लागि भवनाथ हुमागाई र रत्नबहादुर भट्टराईले उम्मेदवारी घोषणा गरेका छन् । कोषाध्यक्ष पदको लागि आशिक कार्की र सहकोषाध्यक्षमा विकल्पराज पोखरेलले उम्मेदवारी घोषणा गरेका छन् । यसबाहेक कार्यसमिति सदस्यमा भट्टराई समूहबाट गोविन्द खनाल, होमराज थापा, रमेश लुइँटेल, सुवर्ण बस्नेत, उमा खड्का पाठक, विजयकुमार बस्नेत, बसन्त पाण्डे, राजेश श्रेष्ठ र ई. मनोरथ साहले उम्मेदवारी घोषणा गरेका छन् । यही असार ३० गते चुनाव हुनेछ । चुनावमा इलेक्ट्रोनिक भोटिङ मेसिनको प्रयोग हुने र चुनाव सकिएको एक घण्टामै मतपरिणाम सार्वजनिक गरिने इक्यानका वर्तमान अध्यक्ष प्रकाश पाण्डेले जानकारी दिए । आफूले अध्यक्ष पदको लागि सर्वसम्मतिको लागि प्रयास गरेको भए पनि केही साथीहरू सर्वसम्मत नेतृत्व चयन गर्ने पक्षमा नआएका कारण चुनावमा होमिनुपरेको पाण्डेले बताए ।
अध्यक्षको उम्मेदवारी घोषणा गरेका पूर्वअध्यक्ष विष्णुहरि पाण्डे भने इक्यानको विधानमा नै दुई कार्यकाल अध्यक्ष हुन पाउने व्यवस्था रहेकाले आफू अध्यक्ष पदको लागि चुनावी मैदानमा होमिएको बताएका छन् । शैक्षिक परामर्श क्षेत्रमा २० वर्षभन्दा बढीको अनुभव लिएका पाण्डेले नेपालको शैक्षिक परामर्श क्षेत्रमा विकास र विस्तारका लागि एक तहको योगदान दिइसकेका छन् । ‘मेरो जित्ने आधार नै यही योगदान हो’, उनले भने, ‘सन् २०१८ मा अध्यक्ष हुँदा यस क्षेत्रको विकासको लागि आफूले गरेको कार्य, विगतमा कार्यसमितिभित्र विभिन्न पदमा बसेर यस क्षेत्रको लागि आफूले गरेका कार्यहरू, सबै साथीहरूको साथ र सहयोगले गर्दा यो चुनावी मैदानमा सहजै जित हासिल गर्न सक्छु भन्ने आत्मविश्वास मलाई छ’, उनले भने । सही व्यक्ति, सही स्थान, सुदृढ र समृद्ध इक्यान भन्ने मूल लक्ष्यसहित चुनावी मैदानमा होमिएकाले आफूलाई सबैको साथ, सहयोग र भरोसा रहने विश्वास पाण्डेले व्यक्त गरेका छन् ।
अध्यक्षका अर्का उम्मेदवार शेषराज भट्टराई भने शैक्षिक परामर्श क्षेत्रलाई राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डको रूपमा उभ्याएर यस क्षेत्रलाई नयाँ उचाइमा पु¥याउनको लागि नेतृत्वमा पुग्नै पर्छ भन्ने सोच आफूमा आएको र सोही सोचअनुसार साथीहरूको सहयोगका कारण आफू चुनावी मैदानमा होमिएको बताए । इक्यान चुनावमा कुल चार सय ६७ मतदाताले मतदान गर्नेछन् ।