दोलखा,बैशाख १४
दोलखा जिल्लामा अस्पताल व्यवस्थापनका लागि १८ लाखको साझा कोष स्थापना गरिएको छ । कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि जिल्लाका ९ स्थानीय तहहरुले साझा कोषको स्थापना गरेका हुन् । जिल्ला समन्वय समिति, स्थानीय तहका प्रमुख एवम् प्रतिनिधि तथा जिल्ला विपद् व्यवस्थापन समितिको संयुक्त बैठकले १८ लाखबराबरको साझा कोष स्थापना गर्ने निर्णय गरेको हो । दोलखा जिल्लामा कोरोना भाइरस सम्बन्धित अस्पताल, एम्बुलेन्स र स्वास्थ्य सामग्रीलगायतका लागि खर्च गर्ने गरी साझा कोषको स्थापना गरिएको जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले जानकारी दिए ।
कोषमा दोलखाका ९ वटा स्थानीय तहले २÷२ लाखको दरले रकम उपलब्ध गराउने गराई सञ्चालन गरिने जिसस प्रमुख पाण्डेको भनाइ छ । स्वाव संकलन गरेपछि परीक्षणका लागि एम्बुलेन्समा पठाउने खर्च, चालक खाना खाजा लगायतको खर्च व्यहोर्ने विषयमा अन्योल भएपछि साझा कोषको अवधारणा निस्किएको उनको भनाइ छ । कोषबाट सम्भाव्य कोरोना बिरामीको स्वाब परीक्षणका लागि धुलिखेल वा काठमाडौं पठाउने, शव राख्ने मच्र्युरी बाकस खरिद गर्ने, मानसिक सन्तुलन गुमेकाको उपचार गर्नेजस्ता प्रयोजनको लागि खर्च गरिने बताइएको छ । हाल दोलखा जिल्लामा ४० वटा आइसोलेसन र ९९ वटा क्वारेन्टाइन तयारी अवस्थामा रहेका छन् ।
पछिल्लो समय लकडाउनका कारण नेपालका प्रमुख सहर बजार बाट गाउँ फर्केका नागरिकको पनि कोरोना भएनभएको परिक्षण गरिने भएको छ । जिल्लाका ९ वटै स्थानीय तहमा जिल्लाबाहिरबाट आएका नागरिकको स्वास्थ्य परीक्षण घर–घरमा पुगेर गर्ने जिल्ला प्रशासन कार्यालय र ९ वटै स्थानीयतहका जनप्रतिनिधिले जानकारी दिएका छन् । अहिले दोलखाका स्थानिय तहहरुले कोरोना संक्रमित देश भारतलगायत तेस्रो मुलुक बाट गाउँ फर्केका करिब साढे ३ सय नागरिकको कोरोना परीक्षण गरिएको छ । उनीहरु सबैको नतिजा कोरोना संक्रमण नभएको रिपोर्ट देखिएको जिल्ला स्वस्थ्य कार्यालय दोलखा प्रमुख विभुकुमार झाले जानकारी दिए ।
त्यसैगरी जिल्लामा दैनिक उपभोग्य वस्तु, कृषि औजार, मल, बीउ तथा निर्माण सामग्रीको ढुवानीलाई सहज र व्यवस्थित बनाउने पनि निर्णय भएको जिसस दोलखाका प्रमुख डबल पाण्डेले बताए । एक महिना अघिदेखि चलेको लकडाउनले समग्र जिल्ला प्रभावित बनेको छ । जिल्लामा बर्से बालिको मल, बीउ अभाव हुन थालेको छ भने किसानले उत्पादन गरेको तरकारी खेत बारीमै कुहिन थालेको छ । गाउँ सहरका सहकारी, बैंक तथा वित्तीय संघ÷संस्था बन्द हुँदा आर्थिक संकट देखा पर्न थालेको छ । दोलखामा भूकम्पपछिको पुनर्निर्माण पनि लकडाउनका कारण हुन सकेको छैन ।