काठमाडौं । शुक्रबार प्रधानमन्त्री प्रचण्डलाई समवेदना दिन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा एमाले संसदीय दलको टोली पुगेको छ । शुक्रबार बिहान प्रधानमन्त्रीको निवासमा पुगेर समवेदना व्यक्त गर्न एमाले संसदीय दल उपनेता सुवास नेम्बाङको नेतृत्वमा प्रतिनिधिसभा र राष्ट्रिय सभा सांसदहरु पुगेका हुन् ।
उनीहरुले प्रधानमन्त्रीकी दिवंगत पत्नी सीता दाहालप्रति फूल चढाउँदै श्रद्धाञ्जली अर्पण गरे । विगतमा प्रचण्डको मन्त्रिपरिषद्मा मन्त्री बनेका नेताहरु पनि सहभागी रहेका थिए । नेम्बाङ, विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ, विमला राई, गोकर्ण विष्ट लगायत नेताहरुले प्रचण्डको परिवारसँग समवेदना साझा गरेका थिए ।
प्रधानमन्त्री प्रचण्डले एमाले सांसदहरुलाई धन्यवाद दिँदै आफूमाथि पटक पटक पारिवारिक शोक परेका बेला सधैं साथ र शुभेच्छा राखेको बताए । लामो समयदेखि बिरामी प्रधानमन्त्रीपत्नी सीता दाहालको बुधबार बिहान निधन भएको थियो ।
‘मलाई यस्तो अप्ठेरो परेका बेलामा तपाइँहरु आएर साथ सहयोग दिनुभयो, यसले मलाई विपत्ति सहन ठूलो बल मिलेको छ,’ प्रचण्डले एमाले नेताहरुसँग भनेका थिए ।