काठमाडौं । लम्पी स्किन रोग नियन्त्रणका लागि हालसम्म सरकारले गरेका प्रयासका बारेमा सदनलाई जानकारी गराउन कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई सभामुख देवराज घिमिरेले निर्देशन दिएका छन् ।
देशव्यापी महामारीका रुपमा फैलिएको सो रोगका कारण हजारौं पशुचौपाया मरेका कारण किसान मर्कामा परेको भन्दै सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका थिए ।
सभामुख घिमिरेले पटक–पटकको सांसदहरुको ध्यानाकर्षणपछि सो रोग नियन्त्रणका लागि सरकारका तर्फबाट भइरहेको प्रयासका बारेमा जानकारी गराउन कृषि मन्त्रालयलाई निर्देशन दिएको हो ।
त्यसअघि हेटौँडामा सडक विस्तारको सूचना टाँसिएका कारणले स्थानीयवासी आतङ्कित भएको भन्दै सांसद दीपकबहादुर सिंहले सरकारको ध्यानाकर्षण गराए । उनले हैटौँडा बजारमा सडक विस्तार गर्ने हो भने मुआब्जा प्रदान गर्नसमेत सरकारसँग माग गरे ।