भक्तपुर । प्रसिद्ध केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा साउन १ गतेदेखि लाग्ने श्रावणी मेलाको अन्तिम तयारी पूरा भएको छ । मन्दिर संरक्षण तथा विकास समितिका अध्यक्ष धर्मराज बस्नेतले हरेक वर्ष झैँ यस वर्ष पनि साउन १ गतेदेखि भदौ ६ गतेसम्म लाग्ने ३५ दिने श्रावणी मेलाको तयारी सकिएको बताउका छन् । यस वर्ष करिब दुई लाखले मेला अवलोकन गर्ने अपेक्षा गरिएको उनको भनाइ छ ।
व्यवस्थापन समितिका महासचिव हरिशरण बस्नेतले साउन १ गते सोमबार बिहान स्थानीय पौखेलस्थित चन्द्रविनायक मन्दिरबाट कलश यात्रा गरी मेलाको शुभारम्भ गरिने जानकारी दिउ । श्रावणी मेलामा शनिबार र सोमबार दर्शनार्थीको अत्यधिक भीड हुने भए पनि पूजा गर्न एक घन्टाभन्दा बढी बस्न नपर्ने गरी व्यवस्थापन गरिएको जानकारी दिए । विगतका वर्ष श्रावणी मेलाबाट करिब रु. ५० लाख बचत हुने गरेको भन्दै यस वर्ष भारतीय पर्यटक बढेकाले रु. एक करोड २५ लाखसम्म बचत हुने अपेक्षा गरिएको अध्यक्ष बस्नेतले बताउ ।
उनले साउन २ गतेदेखि ८ गतेसम्म पण्डित जनार्दन पौडेलबाट शिव पुराण कथावाचन, साउन ९ गतेदेखि १५ गतेसम्म पण्डित उद्धवनारायण बास्कोटा शास्त्रीबाट पुरुषोत्तम महात्म्य वाचन, साउन १६ गतेदेखि २२ गतेसम्म पण्डित राघव अर्यालबाट श्रीमद्भागवत महापुराण वाचन गरिने जानकारी दिउ ।
विसं २०६६ भदौमा मन्दिरलाई केदारनाथको शिर घोषणा गरिएको थियो । सोही अवसरमा भदौ ६ गते विशेष कार्यक्रम आयोजना गरी मेलाको समापन गरिँदै आएको छ । सूर्यविनायक नगरपालिका–८ का वडाध्यक्ष पुष्पराज बस्नेतले डोलेश्वर मन्दिर धार्मिकसँगै पर्यटकीय गन्तव्यकारुपमा समेत विकास गर्दै गएको बताउँदै नगरपालिकाले यहाँका शिवालयलाई समेटेर शिव सर्किटको निर्माण सुरु गरेको बताए ।
मेलाका लागि नेपाली सेनाको इन्द्र बक्स गण सूर्यविनायक, नेपाल प्रहरी, सामुदायिक वन उपभोक्ता महासङ्घ भक्तपुर तथा विभिन्न सङ्घसंस्था एवं स्थानीयको सहभागिता हुनेछ । सूर्यविनायक नगरपालिकाको सहयोगमा निर्माण भएको मूलद्वार भोलि उद्घाटन गरिनेछ ।