काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७९/०८० मा एक सय ६२ वटा भ्रष्टाचार मुद्दामा एक अर्ब ७७ करोड ५८ लाख ४६ हजार चार सय ३७ रुपैयाँ बिगो मागदाबीसहित सात सय ६० जनालाई प्रतिवादी बनाएर विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।
अख्तियारले दिएको जानकारीअनुसार नेपाल सरकारका सचिव एक जना, अन्य कर्मचारी तीन सय ५५ जना, बिचौलिया/मतियारलगायत अन्य एक सय ७८ जना र निर्वाचित/मनोनीत पदाधिकारी दुई सय २६ जनासहित सात सय ६० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
नेपालको संविधानको व्यवस्थाबमोजिम अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक पद धारण गरेको व्यक्तिले भ्रष्टाचार गरी अख्तियारको दुरुपयोग गरेको सम्बन्धमा कानुनबमोजिम अनुसन्धान गर्ने वा गराउने र दोषी देखिएमा अख्तियारप्राप्त अदालतमा आरोपपत्र दायर गर्ने कार्य गर्दै आएको छ ।
आर्थिक वर्ष २०७९/८० मा आयोगमा विभिन्न माध्यमबाट प्राप्त २० हजार तीन सय ६८ तथा अघिल्लो आर्थिक वर्ष २०७८/७९ बाट जिम्मेवारी सरेर आएका सात हजार एक सय ६२ समेत कुल २७ हजार पाँच सय ३० उजुरीहरूमध्ये १८ हजार दुई सय ४५ उजुरी फछ्र्यौट भएको अख्तियारले जनाएको छ । जुन कुल उजुरी संख्याको करिब ६६ दशमलव २७ प्रतिशत हुन आउँछ ।
अख्तियारले नेपालको संविधान, अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८, भ्रष्टाचार निवारण ऐन, २०५९, अख्तियार दुरुपयोग अनुसन्धान आयोग नियमावली, २०५९, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको संस्थागत रणनीतिक योजना, २०७६/७७–२०८०/८१), अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यविधि २०७८, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कर्मचारी तथा पदाधिकारीहरूले पालना गर्नुपर्ने आचारसंहिता, २०७६, लगायतका कानुनहरूअन्तर्गत रही भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने कार्य गर्दै आइरहेको छ ।
आर्थिक वर्ष २०७९/८० मा एक सय ६२ मुद्दा विशेष अदालतमा दायर गरिएका छन् । अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा आयोगबाट विशेष अदालतमा कुल एक सय ३१ वटा मुद्दाहरू दर्ता भएका थिए ।