चीन । अमेरिका र चीनबीच पृथ्वीको तापक्रम वृद्धिदर घटाउने सम्बन्धमा छलफल भएकोे छ । जलवायु मामिलासम्बन्धी जिम्मेवारी तोकिएका अमेरिकी दूत एवं पूर्वविदेशमन्त्री जोन केरीले आफ्ना चिनियाँ समकक्षीसँग सोमबार बेइजिङमा यससम्बन्धमा वार्ता गरेका हुन् ।
गएको वर्ष अमेरिकी संसद्की तत्कालीन सभामुख न्यान्सी पेलोसीले स्वशासित ताइवान पुगेर बेइजिङलाई आक्रोशित बनाएपछि अमेरिका र चीनबीचको वार्ता रोकिएकोे थियो ।
चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार केरीले आफ्ना चिनियाँ समकक्षी सी झेन्हुआसँग जलवायु परिवर्तनले पृथ्वीमा ल्याएको वातावरणीय सङ्कट र यसको नियन्त्रणका लागि विश्वका प्रमुख अर्थतन्त्र र प्रदूषणका लागि बढी जिम्मेवार मानिएका मुलुकहरूको भूमिकाप्रति सोमबार बेइजिङमा चार घण्टा लामो छलफल गरेका हुन् ।
अमेरिकाले चीनले पनि हरितगृह ग्यास उत्सर्जन घटाउने जिम्मेवारी लिनुपर्ने र विश्वले चीनलाई उत्सर्जन घटाउने कदम चाल्न दबाब दिनुपर्नेमा जोड दिँदै आएको छ ।
चीनले लामो समयदेखि विकासशील राष्ट्रको रूपमा आफ्नो आधिकारिक हैसियतलाई आफ्नो उच्च उत्सर्जनको औचित्य पुष्टि गर्न प्रयोग गर्दै आएको कुरा केरीले बेइजिङमा राख्ने बताइएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र अर्थमन्त्री जेनेट येलेनले चीन भ्रमण गरेपछि यो भ्रमण भएको हो ।