काठमाडौं । ल्यान्डफिल्ड साइटमा मंगलबार पनि बञ्चरेडाँडाका स्थानीयले फोहोर फाल्न अवरोध गरेका छन् । काठमाडौं महानगरबाट फोहोर बोकेको कुनैपनि गाडी स्थानीयको अवरोधका कारण ल्यान्डफिल्ड साइट नगएको फोहोर मैला व्यवस्थापन संघले जनाएको छ ।
विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै बञ्चरेडाँडा र सिसडोलका स्थानीयहरुले नयाँ आर्थिक वर्ष सुरु भएकै दिन सोमबारदेखि फोहोर बोकेर ल्यान्डफिल साइट गएका गाडीहरुलाई बाटोमै रोकेका थिए । फोहोर मैला व्यवस्थापन संघले बञ्चरेडाँडा र सिसडोलका स्थानीयले फोहोर विसर्जन गर्न अवरोध गरेपछि अदालतमा रिट दर्ता गरेको थियो ।
बञ्चरेडाँडामा फोहोर विसर्जन गर्न जाने टिपरसँग शुल्क उठाउने र नदिए अवरोध गर्ने स्थानीय तहको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको थियो । तर, स्थानीयले फोहोर बोकेर जाने गाडीमा अवरोध गर्दै सर्वोच्च अदालतले दिएको आदेशको अवज्ञा गरेका हुन् । फोहोरमैला व्यवस्थापन संघले बञ्चरेडाँडा र सिसडोलका स्थानीयको अवरोधका कारण बुधबारदेखि काठमाडौंको फोहोर नउठ्ने जनाएको छ ।