नयाँ दिल्ली, वैशाख १५
भारतीय कम्पनीहरुले अमेरिकामा सन् २०१८/०१९ मा १ हजार ३ सय ३८ वटा पेटेन्ट आवेदन दिएका छन् । सूचना प्रविधिसम्बन्धी उद्योगहरुको संगठन नास्कामको रिपोर्टअनुसार औषधि, आर्टिफिसियल इन्टेलिजेन्स, रसायन र सञ्चार प्रविधि क्षेत्रमा उक्त आवेदन दिइएको जनाइएको छ । जसमध्ये ५९ प्रतिशत प्रविधिसँग सम्बन्धित पेटेन्ट रहेको छ ।
यसमा कम्पयुटर प्रविधि, सञ्चार प्रविधि र एआई प्रमुख छन् । रिपोर्टअनुसार सूचना प्रविधि कम्पनी टाटा कन्सल्टेन्सी सर्भिसेज (टीसीएस), इन्फोसिसलगायत कम्पनी अगाडि छन् । उक्त रिपोर्ट सन् २०२० जनवरी ३१ सम्मको क्वेस्टेल अर्बिट पेटेन्ट डाटाबेसको लागि लिइएको तथ्यांकमा आधारित छ । त्यस्तै ४०.६ प्रतिशत गैरप्रविधि पेटेन्टको लागि निवेदन परेको छ । यसमा मुख्यतया रसायन, फर्मास्युटिकल्स र मेकानिकल क्षेत्र रहेका छन् ।
यस्ता पेटेन्टका निवेदन दिनेमा रिलायन्स इन्डस्ट्रिज, सनफर्मा, वेल्सपन र हिन्दुस्तान पेट्रोलियम कर्पोरेसन लिमिटेडलगायत छन् । सन् २०१५–२०१९ को अवधिमा भारतीय स्टार्ट अपबाट २ सय ८० भन्दा धेरै प्रविधि पेटेन्टका लागि आवेदन दिइएको थियो ।