इस्लामावाद, वैशाख १५
एसियाली विकास बैंक (एडीबी)ले पाकिस्तानलाई १ अर्ब ७० करोड अमेरिकी डलर ऋण दिने भएको छ । जुनसम्ममा प्रस्तावित रकमको आधा र यो वर्षको अन्त्यसम्ममा उक्त पूरै रकम प्रदान गरिने एडीबीले प्रतिबद्धता जनाएको छ ।
पाकिस्तानी आर्थिक मामिला मन्त्रालयले शुक्रबार एक वक्तव्यमार्फत एडीबीले कोभिड–१९ विरुद्ध लड्न उक्त रकम दिने प्रतिबद्धता जनाएको उल्लेख गरेको छ । यसमा बजेटरी सहयोगस्वरुप जुनसम्म ८० करोड डलर समावेश हुनेछ । बाँकी ९० करोड डलर भने डिसेम्बरसम्म प्राप्त हुनेछ । एडीबीले बजेटरी सहयोग भने बढाउन सक्ने पनि जनाइएको छ । अर्थमन्त्री मखदूम खुस्रो बाख्तियार र एडीबी अध्यक्ष मासात्सुगु आसाकावाले भर्चुअल बैठक गरेका थिए ।
पाकिस्तानमा हालसम्म १३ हजार २ सय ३६ जनामा विश्व महामारी कोरोनाभाइरस संक्रमण भेटिएको छ भने २ सय ७७ जनाको मृत्यु भइसकेको छ । त्यस्तै २ हजार ८ सय ६६ जना उपचारपछि स्वस्थ भएका छन् । पाकिस्तानको सिन्ध र पञ्जाब राज्यमा कोरोना संक्रमित धेरै भेटिएको डन अनलाइनले जनाएको छ ।