काठमाडौं । नेपाली सेनाको टोलीले काठमाडौंको सिनामंगलमा फेला परेको शंकास्पद वस्तु निष्कृय पारेको छ । सो शंकास्पद वस्तु बम नभइ नोकिया मोबाइलको सेटमा तार जोडेर कालो टेपले बेरेर राखेको अवस्थामा पाइएको नेपाली सेनाका सूचना अधिकारी कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।
सो वस्तु बम हुन सक्ने आशंका भएको हुँदा प्रहरीले नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बोलाएको थियो । उक्त बस्तु बम नभइ डर पैदा गर्न मात्र राखिएको पाइयो । नेपाली सेनाको टोलीले शंकास्पद वस्तु निष्कृय पारेलगत्तै त्यही ठाउँबाट एक जना शंकास्पद व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान जारी रहेको काठमाडौंका प्रहरी प्रवक्ता एसपी सीताराम रिजालले बताएका छन् ।