काठमाडौं । शंकास्पद वस्तु फेला परेको सिनामंगलका घरधनी युगल किशोर यादवले आफूलाई हिजोदेखि नै एक व्यक्तिले फोन गरेर पाँच लाख रुपैयाँ मागेको बताएका छन् । पैसादिन नमानेपछि बुधबार बिहान आफ्नो घर अगाडि शंकास्पद वस्तु फेला परेको उनको भनाइ छ ।
कालो टेपले बेरेको र तार बाहिर निस्किएको अवस्थामा शंकास्पद वस्तु सिनामंगलको खोटाङ हलेसी ज्वलेर्सको सटर अगाडि फेला परेको थियो । उक्त शंकास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्कृय पारिसकेको छ ।
बुधबार बिहान ७ बजेतिर एक व्यक्तिले शंकास्पद वस्तु राखेर हिँडेको सीसीटीभी फुटेजमा देखिएको छ । सीसीटीभी फुटेजको आधारमा संन्दिग्ध एक जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा समेत लिइसकेको छ । प्रहरी वृत्त गौशालामा राखेर ती व्यक्तिलाई अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ । शंकास्पद वस्तु फेला परेपछि सो क्षेत्र वरपरका बन्द रहेका पसलहरु सेनाको टोलीले निष्कृय पारेपछि खुलिसकेका छन् ।