काठमाडौं । सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड २८ औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले साउन तीन गते २८ औं वार्षिकोत्सव मनाएको हो । कम्पनीले आर्थिक वर्ष २०७९/८० मा चार अर्ब ५५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको जनाएको छ । कुल तीन लाख ११ हजार तीन सय ५८ वटा बीमालेख बिक्री गरी उक्त परिमाणमा बिमा शुल्क आर्जन गरेको कम्पनीले जनाएको छ ।
साविकको सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सबीच मर्जरपश्चात् बनेको सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सालिको) को चुक्ता पुँजी दुई अर्ब ६२ करोड रुपैयाँ रहेको छ । नेपाल बीमा प्राधिकरणले भने निर्जीवन बीमा कम्पनीको हकमा न्यूनतम दुई अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी कायम गरेको हुनुपर्ने व्यवस्था गरेको छ । सोअनुसार सगरमाथा लुम्बिनीले कायम गरेको चुक्ता पुँजी बीमा प्राधिकरणले तोकेको न्यूनतम सीमाभन्दा बढी हो ।
कम्पनीले आव २०७९/८० मा तीन अर्ब नौ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ भने कम्पनीको नेटवर्थ पनि पाँच अर्ब ९० करोड रुपैयाँ पुगेको कम्पनीले जनाएको छ । कम्पनीले सबै क्षेत्रमा गरी कुल एक सय १३ वटा शाखाबाट कारोबार गर्दै आएको छ ।